विश्व बालश्रम विरुद्धको दिवस : जोखिममा रहेका बालबालिकालाई पुनःस्थापनामा प्राथमिकता दिन आह्वान
काठमाण्डाै – आज विश्व बालश्रम विरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिएको छ ।
बालश्रम विरुद्धको विश्व दिवस, २०२० को अवसरमा आईएलओले कोभिड–१९ महामारी र यसले निम्ताएको विश्वव्यापी आर्थिक तथा सामाजिक सङ्कटबाट पर्याप्त सामाजिक सुरक्षा प्रणालीको अभावमा गरिबीमा रहेका परिवारसँगै उनीहरुका बालबालिकामा जोखिम बढाएको उल्लेख गरेको हो । सन् २०२५ सम्ममा बालश्रमका सबै स्वरुपको अन्त्य गर्न निर्णायक कदम चाल्नुपर्नेमा आईएलओले जोड दिएको छ ।
कोभिड–१९ फैलनु अगाडिसम्म विश्वभर झण्डै १० करोड बालबालिकालाई श्रमबाट मुक्त गरिएको पनि आईएलओले जनाएको छ । सन् २००० मा बाल श्रमिकको सङ्ख्या २४ करोड ६० लाख रहेकामा सन् २०१६ सम्म बालश्रम १५ करोड २० लाखमा झरेको छ । सात करोड ३० लाख बालबालिका अझै पनि जोखिमपूर्ण श्रममा संलग्न छन् ।
कोरोना सङ्कटले जोखिममा रहेका लाखौँ बालबालिकालाई फेरि बालश्रममा लगाउन सक्ने खतरा रहेको आईएलओले औँल्याएको छ । संयुक्त राष्ट्र सङ्घले सन् २०२१ लाई बालश्रम उन्मूलनका लागि अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको छ ।
सङ्गठनले बालश्रम विरुद्धको लडाईंका लागि विश्वव्यापी, क्षेत्रीय, राष्ट्रिय तथा सामुदायिक स्तरमा बलियो साझेदारीको आवश्यकतामा जोड दिएको छ । सन् २०२५ सम्म सबै प्रकारको बालश्रम अन्त्य गर्ने दीगो विकास लक्ष्यको उद्देश्य ८.७ ले पनि प्रभावकारी समन्वय गरिरहेको आईएलओले जनाएको छ ।
नेपाल लगायतले २१ देश तथा २५० साझेदार संस्थाले आफ्ना कदमलाई अझ तीव्र बनाउने, रचनात्मक समाधान कार्यान्वयन गर्ने, उत्कृष्ट अभ्यास तथा सिकाइबारे ज्ञान आदनप्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना ९२०७५–२०८५० ले विसं २०८५ भित्र नेपालबाट सम्पूर्ण प्रकारका बालश्रम उन्मूलन गर्ने लक्ष्य लिएको छ । गुरुयोजनाले विसं २०७९ भित्र निकृष्ट प्रकारका बालश्रम अन्त्य गर्ने घोषणा गरेको छ ।
केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको बालश्रमसम्बन्धी तथ्याङ्क अनुसार बालश्रमको अनुपात विस्तारै घट्दै गइरहेको छ । विभागले प्रकाशन गरेको बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण अनुसार पाँचदेखि १७ वर्ष उमेरसम्मका ३७.४ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेका छन् ।
गलैँचा उद्योग, ढुङ्गा खानीजस्ता क्षेत्रमा बालश्रम कम हुँदै गएको छ भने केही क्षेत्रमा बालश्रम बढेको देखिन्छ । सडक व्यापार, मोटरसाइकल र साइकल मर्मत, सामान ओसारपसार, घरायसी काम, भरिया, सीमामा अवैध सामान ओसारपसार, कपडामा जरी भर्ने लगायत क्षेत्रमा बालश्रम बढिरहेको गुरुयोजनामा उल्लेख छ ।