असार १ बाट मनसुन नेपाल भित्रने
नेपालमा मनसुन असार १ बाट भित्रने पूर्वानुमान गरिएको छ । यो विगतभन्दा केही ढिलो गरी भित्रिने भएको हो । हिजो नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन भित्रिनका वातावरण बनिनसकेकाले अझै चार दिन लाग्ने सम्भावना रहेको हो । नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ । “यी प्रणालीहरु विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो”, मौसमविद् कँडेलको भनाई उदृत गर्दैगोरखापत्रले लेखेको छ।
यसका साथै मनसुन प्रवेश गर्नका लागि मनसुनी हावा वायुमण्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यून चापीय रेखा स्पष्टसँग देखिनुपर्ने हुन्छ र न्यून चापीय क्षेत्रको विकास भएर न्यून चापीय रेखा नेपालतिर परेको हुनुपर्छ । गत वर्ष पनि १० दिन ढिलो अर्थात् २० जुनमा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो ।