वैकल्पिक कक्षा : के गर्दैछन् सामुदायिक विद्यालय ?

जनपत्र
२८ जेष्ठ २०७७, बुधबार ०७:२३

काठमाडौँ — सर्लाहीको जलधार कमलदेव नमुना माविले कक्षा ८–१० मा अनलाइन कक्षा सुरु गरिसकेको छ । गाउँपालिकासँग सम्पर्क गरेर विद्यालयको सेवा क्षेत्रको १० स्थानमा निःशुल्क इन्टरनेट सञ्चालन कक्ष निर्माणको पहल भइरहेको छ । मुलुककै सबैभन्दा धेरै विद्यार्थी रहेको बुटवलस्थित कालिका मानव ज्ञान माविले स्थानीय टेलिभिजनबाट कक्षा सञ्चालन थालेको छ ।

देशभरका अधिकांश विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगिसकेका कारण असार १ गतेबाट विविध विधिबाट वैकल्पिक कक्षा सञ्चालन गर्न सकिने प्रधानाध्यापकहरुले बताएका छन् । सिकाइ समूह र नमुना सामुदायिक विद्यालय सञ्जालले देशभरका प्रस्तावित नमुना सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग मंगलबार भर्चुअल छलफल गरेको थियो । छलफलमा प्रअहरुले कोरोना संक्रमण कायम रहेसम्म वैकल्पिक मोडलबाट कक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कालिकाका प्रअ घनश्याम पाठकले घरमा कुनै पनि प्रविधिका साधन नभएका विद्यार्थीलाई शिक्षकको सम्पर्कमा ल्याएर सिकाइलाई निरन्तरता दिने तयारी गरिएको जनाए । उक्त विद्यालयमा ६ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । ‘अनलाइन कक्षा चलाउन शिक्षकहरुलाई तालिम दिँदै छौं,’ उनले भने, ‘इन्टरनेट, रेडियो, टेलिभिजनलगायत कुनै पनि साधन नभएका विद्यार्थीलाई पठनपाठन गराउनु चुनौतीपूर्ण बनेको छ ।’ उनले सार्वजनिक स्कुलमा सञ्चालन गरिएका क्वारेन्टाइन बन्द गरेर स्थानीय रुपमा सम्भव हुने विधिबाट कक्षा चलाउनुपर्ने सुझाव दिए । ‘सिनेमा हल, होटल, सामुदायिक भवन, पार्टी प्यालेसमा क्वारेन्टाइन राख्न सकिन्छ,’ पाठकले भने ।

प्रदेश १ स्थित हल्दीबारी मावि झापाले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी काउन्सिलङको काम थालेको छ । ‘पुस्तक खरिद गरेर विद्यार्थीलाई वितरण गरिसक्यौं,’ प्रअ टंकबहादुर पाख्रिनले भने, ‘जुन विधिबाट सम्भव छ, त्यहि तरिकाबाट पठनपाठन थाल्छौं ।’

शिक्षा मन्त्रालयले असार १ गतेबाट बैकल्पिक विधिबाट पठनपाठन सञ्चालन गर्न निर्देशिका जारी गरेको छ । देशभर रहेका ३ सय २२ प्रस्तावित नमुना विद्यालयका प्रतिनिधिले निर्देशिका अनुसार स्वःअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफलाइनबाट कक्षा सञ्चालन गर्न सकिने जनाएका छन् ।

प्रदेश ५ स्थित गंगा नमुना मावि पाल्पाका प्रधानाध्यापक देवराज देवकोटाले प्रविधिको पहुँचमा रहेका विद्यार्थीको तथ्यांक संकलन गरिसकेको जानकारी दिए । ‘कोरोनाको संक्रमण न्यून नभएसम्म विद्यार्थीलाई कक्षाकोठामा डाक्न सकिँदैन । शिक्षकको समूह बनाएर विद्यार्थीको घरघरमा पठाएका छौं,’ उनले भने । सर्वेक्षणमा प्रविधिका सबै साधनको पहुँचका विद्यार्थी १० प्रतिशत, टीभी र रेडियोमा पहुँच हुने ४० प्रतिशत र कुनै पनि साधनमा नभएका विद्यार्थी ३५ प्रतिशत भेटिएको उनले जनाए । ‘रेडियोमार्फत कक्षा सञ्चालन गरिएको थियो, रेडियो पनि नहुने विद्यार्थी धेरै भएपछि शिक्षकहरुलाई समूह बनाएर घर पायक पर्ने विद्यार्थीको घरघरमा पठाउन थालिएको छ,’ उनले भने, ‘भौतिक दुरी कायम गरेर टोलटोलमा पढाउने काम गर्छौं ।’

७ वटै प्रदेशका नमुना विद्यालयका प्रधानाध्यापकहरुले आफ्नो प्रदेश मातहतका सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग वैकल्पिक कक्षासम्बन्धी परामर्श लिएर छलफलमा प्रस्तुत गरेका थिए । प्रदेश २ स्थित जलधार माविका प्रअ रामेश्वरप्रसाद यादवले अधिकांश मावि स्कुलमा क्वारेन्टाइन निर्माण गरिएकाले वैकल्पिक कक्षा सञ्चालन गर्न पनि चुनौतीपूर्ण रहेको गुनासो गरे । ‘सेनिटाइजेसन नगरेसम्म कक्षामा विद्यार्थी बोलाउन सकिँदैन, शिक्षकलाई मात्र बोलाउन पनि डरमर्दो अवस्था छ,’ उनले भने । देशभरका करिब ३ हजार विद्यालयमा क्वारेन्टाइन बनाइएको छ ।

कर्णाली प्रदेशको सल्लानस्थित जनकल्याण माविका प्रअ पुर्णबहादुर भण्डारीले वैकिल्पक विधिबाट कक्षा चलाउन छुट्टै बजेट आवश्यक रहेको औंल्याए । ‘प्रविधिमा पहुँच नभएका शिक्षक विद्यार्थीलाई सहयोगको जरुरी छ,’ उनले भने, ‘वैकल्पिक शिक्षण सामग्री किन्न पनि बजेट चाहिन्छ ।’ कर्णाली प्रदेश अन्तर्गतका विद्यालयहरुले विद्यार्थीलाई परामर्श दिन शिक्षकलाई समुदायमा परिचालन गरेको उनले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा पाठ्यपुस्तक वितरणको काम सुरु भएको दुर्गालक्ष्मी नमुना मावि कैलालीका प्रअ शिवराज जोशीले बताए । उनका अनुसार कतिपय विद्यालयमा अझै पनि पाठ्यपुस्तक पुग्न सकेको छैन । ‘सुदूरपश्चिममा अनलाइन कक्षा सम्भव देखिएको छैन । शिक्षक नै परिचलान गर्ने हो,’ उनले भने ।

पदमा मावि भक्तपुरले पनि जुम प्रविधिबाट कक्षा १०–१२ को अनलाइन कक्षा सञ्चालन गरेको छ । ‘इन्टरनेट सुविधा नभएका विद्यार्थीलाई समेट्न सकिएको छैन,’ प्रअ राम हाडाले भने, ‘अहिले विद्यार्थीको तथ्यांक लिने काम भइरहेको छ ।’ अनलाइन कक्षाका लागि देशभरका प्रत्येक शिक्षकलाई कम्तीमा एक थान ल्यापटपको आवश्यकता रहेको उनले औंल्याए ।

सत्तारुढ नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष तथा सत्यदेवी मावि धादिङका प्रअ लक्ष्मण शर्माले संघ, प्रदेश र स्थानीय सरकारले शिक्षकलाई विश्वास गरेर अधिकार दिए वैकल्पिक विधिबाट पनि सिकाइ सम्भव रहेको जनाए । ‘नमुना विद्यालयले अहिलेको अवस्थामा पनि सबै सामुदायिक विद्यालयलाई उदाहरण हुने गरी शैक्षिक कार्यक्रम गर्न सक्छन्,’ उनले भने । शिक्षण सिकाइ पद्धति, गुणस्तर मापन र मूल्यांकन पद्धति सुधार गर्नुपर्नेमा समेत शर्माले जोड दिए । मातृभाषा र फरक क्षमता भएका बालबालिकालाई पनि शैक्षिक सामग्री तयार पार्नुपर्ने उनको सुझाव थियो । गण्डकी प्रदेशस्थित रामशाह मावि तनहुँका प्रअ प्रेमराज लामिछानेले विद्यालयलाई भौतिक निर्माणसँगै व्यवस्थापकिय र शैक्षिक गुणस्तर सुधार गर्न पनि बजेट चाहिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*