एक महिनासम्म पीसीआर रिपोर्ट आएन, क्वारेन्टाइनमै बसेको बस्यै

भारतबाट फर्किएका नागरिकले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसपछि आरडिटी गरेर नेगेटिभ आए घर पठाइन्छ। पोजेटिभ आए स्वाब संकलन गरी पिसिआर गरिने गरिएको छ। तर बैतडीमा क्वारेन्टाइनमा बसेको १ महिनासम्म स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाएको रिपोर्ट आएको छैन।
शिवनाथ गाउँपालिका १ का तीन जना क्वारेन्टाइनमा बसेको २७ दिन पूरा भइसक्यो। तर उनीहरूको क्वारेन्टाइन बसाई अझै पनि टुंगिएको छैन्। सुरुमा दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने भनेकाले आफूहरू स्वदेश फर्केलगत्तै क्वारेन्टाइनमा बसेको भए पनि महिना दिनसम्म क्वारेन्टाइनमै बस्नुपरेको उनीहरूले बताएका छन्। आरडिटी रिपोर्ट पोजेटिभ देखिएका उनीहरूको पिसिआर रिपोर्ट अझै नआएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए। शारदा मावि क्वारेन्टाइनमा बसेका तीन जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको र तीमध्ये एक जनाको नेगेटिभ आएको तर दुई जनाको रिपोर्ट नआउँदा तीनै जना क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन्।
जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिकको पनि आरडिटी पोजेटिभ आएको भए पनि पिसिआर परीक्षण हुन सकेको छैन। भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका बैतडीका ५ हजार ३ सय ६ जनाको आरडिटी गर्दा ४ सय १८ जनाको पोजेटिभ देखाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। १४ दिन क्वारेन्टाइन अवधि पूरा गरेकाको आरडिटी गरिएको हो। सबैभन्दा बढी आरडिटी पोजेटिभ शिवनाथ गाउँपालिकामा १ सय ५३ जना रहेका छन्। आरडिटी पोजेटिभ देखाएकामध्ये ३ सय जनाको स्वाब संकलन गर्न बाँकी रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। थाहाखबरबाट