‘महाकाली सन्धिमा ओलीले गल्ती गर्नुभएको हो, आफ्नै पालामा सच्याउनुहोस्’
काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रदीप गिरीले महाकाली सन्धिमा केपी शर्मा ओलीले गल्ती गरेको र अहिले त्यो स्वीकार्नुपर्ने बताउनुभएको छ ।
उहाँले गल्ती सच्याउन पनि ओलीलाई अनुरोध गर्नुभयो । ‘हामीले गरेको गल्ती तपाईँकै पालामा सच्याउनुस्’, गिरीले भन्नुभयो । उहाँले अहिले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा पनि सरकारले कुटनीतिक कुरा हो भन्दै आएको तर पर्याप्त गृहकार्य नगरेको बताउनुभयो ।
‘पर्याप्त गृहकार्य नगरेको कुटनीति सफल हुँदैन । जमिन हाम्रो भन्नेमा बहस गर्नुेपरेन । तर तयारी भएन । स्यालको सिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ’, उहाँले भन्नुभयो । उहाँले यति ठूलो विषयमा देशभित्रै पनि प्रधानमन्त्रीले पर्याप्त छलफल गर्न नसकेको आरोप लगाउनुभयो ।
‘प्रधानमन्त्रीले नेपाली कांग्रेस र मधेशवादी दलसँग यो विषयमा पर्याप्त कुरा गर्नुभएको छैन, दिल्ली र बेइजिङसँग कुरा गर्नुभयो होला भनेर कसरी विश्वास गर्ने । तर पनि संविधान संशोधनमा समर्थन छ । किन भने हामी नेपाल आमाका सन्तती हौँ ।’