बागमती प्रदेशमा बजेटको तयारीः प्रतक्ष निर्वाचित सांसदलाई तीन करोड, समानुपातीकलाई एक करोड
हेटौंडा । बागमती प्रदेश सरकारले असार १ गते बजेट ल्याउने अन्तीम तयारी गरेको छ । बितेको आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा प्रदेश सरकारको राजस्व संकलन घटेको छ । तर, प्रदेश सांसदलाई रिजाउनका लागि सरकारले दुई अर्व ४२ करोड रुपैयाँ घुमाउरो बाटोबाट दिन लागेको छ । प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट प्रतक्ष निर्वाचित सांसले योजनाको छनौट गर्नेगरी ३ करोड रुपैयाँ र समानुपातिका सांसदले योजना छनौट गरेर विकासका काम गर्न पाउने गरी एक करोड रुपैयाँका दिन लागिएको एक मन्त्रीले जानकारी दिनुभयो ।
अहिलेको समयमा कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण गर्नका लागि सरकारको ध्यान जानुपर्ने समयमा सरकार भने सांसदलाई रिजाउन करिव साढे दुई अर्व रुपैयाँ रकम खर्च गर्न लागेको हो । यो रकम सांसदको सिधै खल्तीमा जाने भने होइन । संघीय सांसदले जस्तैगरी विकास निर्माणको योजनाको छनौट गर्ने खर्चगर्नेगरी बजेट छुट्याइएको हो । संघीय सांसदलाई दिने नाम र बागमती प्रदेश सांसदलाई दिने नाम फरक भएपनि कामको प्रकृति भने उस्त रहेको अर्का मन्त्रीले जानकारी दिनुभयो ।
संघीय सरकारले सांसदलाई दिएको बजेट घट्यो, प्रदेशमा वढ्यो
संघीय सरकारले सांसदलाई दिएको बजेट चालु आर्थिक वर्षमा भन्दा आउँदो आर्थिक वर्षमा घटाएको छ । संघीय सांसदलाई ६ करोड रुपैयाँका दरले चालु आर्थिक वर्षमा खर्च गर्न पाउनेगरी बजेट दिएको भएपनि आउँदो आर्थिक वर्षको बजेटमा भने चार करोड रुपैयाँका दरले मात्र दिनेगरी बजेट ल्याएको हो । तर, बागमती प्रदेश सरकारले भने चालु आर्थिक वर्षमा भन्दा आउँदो आर्थिक वर्षमा सांसदलाई दिने बजेट वढाउने तयारी गरेको छ ।
प्रतक्ष निर्वाचित प्रदेशसभाका सदस्यहरुलाई चालु आर्थिक वर्षमा आफ्ना निर्वाचन क्षेत्रमा योजना छनौट गरेर विकास गर्नेगरी ३ करोड रुपैयाँका दरले पूर्वाधार विकास कार्यक्रमबाट दिइएको थियो । आउँदो आर्थिक वर्षमा पनि पनि तीन करोड रुपैयाँ नै प्रतक्ष निर्वाचित सांसदले खर्च गर्न पाउनेछन् । चालु आर्थिक वर्षको वजेटमा समानुपातीक सांसदलाई वजेट दिइएको थिएन । तर, समानुपातिक सांसदलाई पनि रिजाउनका लागि सरकारले विकास निर्माणका योजना छनौट गर्नेगरी एक करोड रुपैयाँका दरले दिन लागेको आर्थिक मामिला मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।
प्रतक्ष र समानुपातीक सांसदलाई वजेटमै पक्षपात
बागमती प्रदेशका प्रतक्ष निर्वाचित र समानुपातिक सांसदको हैसियत जहाँ गएपनि एउटै हुन्छ । प्रदेश सभामा होस वा कुनै कार्यक्रम, समारोह, सम्मेलन जहाँपनि समानुपातीक र प्रतक्ष निर्वाचित सांसदको हैसीएत एउटै हुने गरेको छ । तर, बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि समानुपातीक सांसद र प्रतक्ष निर्वाचित सांसदलाई पक्षपात गरेको समानुपातीक सांसदले आरोप लगाएका छन् । आफुहरुको स्थान पद एउटै भएपनि वजेटमा भने सरकारले पक्षपात गरेको आरोप लगाएका हुन् । समानुपातीक सांसदे प्रतक्ष निर्वाचित सांसद सरह योजना छनौट गरेर काम गर्न पाउनेगरी बजेट छुट्याउन माग गरेका छन् ।