दुई सातामा ७ जनाको क्वारेन्टाइनमै मृत्यु
धनगढी — भारतको दिल्लीबाट जेठ २० गते फर्केर डोटीको केआईसिंह गाउँपालिका ३ स्थित सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भयो । स्थानीय स्वास्थ्यकर्मीका अनुसार उनी लामो समयदेखि मुटुको बिरामी थिए ।
बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका सोही वडाको सन्तोली घरभएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भयो । उनी शनिबार विहान भारतको बैङ्गलोरबाट आइपुगेका थिए । साँझ एक्कासी बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए । मृतकको स्वाब परीक्षणका लागि धनगढी पठाएको छ ।
बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभूत विद्यालय बुढाबाडामा स्थापना गरिएको क्वारेन्टाइनमा जेठ २४ गते शनिबार ६५ वर्षीय वृद्धको मृत्यु भयो । २५ वर्षपछि गाउँ फर्कने क्रममा जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनी घर जानै नपाई ज्यान गुमाउन पुगे ।
डडेलधुराको गन्यापधुरा १ गाउँपालिकाको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी ३१ वर्षीया महिलाको जेठ २० गते राति क्वारेन्टाइनमै मृत्यु भयो । श्रीमान् र छोरासहित भारतबाट फर्केको चौथो दिनमा शौचालय गएको बेला उनी बेहोस भएर मृत्यु भएको हो ।
बैतडीको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माविको क्वारेन्टाइनमा रहेकी २२ वर्षीया युवतीको गत सोमबार मृत्यु भयो । पुर्चौडी नगरपालिका ४ घर भएकी उनी मुटुको बिरामी थिइन् । क्वारेन्टाइनमा बसेका बेला औषधि नपाएर भारतबाट फर्केको केही दिनमै उनले ज्यान गुमाएकी हुन् ।
बाजुरा सदरमुकाम मार्तडीस्थित जिल्ला समन्वय समितिको सभाहलमा निर्मित जिल्ला अस्पतालको आइसोलेसन भवनमा १८ गते राति दुई वर्षीया बालिकाको मृत्यु भयो । बुढीगंगा नगरपालिका–१ कुडी गाउँघर भएका दम्पती भारतबाट १४ गते स्थानीय धुराल्सैन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा पुगेका थिए । त्यही राति बच्चीलाई श्वासप्रश्वासमा समस्या भएपछि दोस्रो दिन उनलाई सदरमुकाम मार्तडी लिइएको थियो । उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भयो ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ घरभई सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ६ वर्षीय बालकको जेठ १७ गते शनिबार राति मृत्यु भयो । आमाबुबासँगै भारतबाट आएका उनी जिल्लामा पुगेर क्वारेन्टाइनमा बसेकै राति बालकको मृत्यु भएको हो ।
सुदूरपश्चिममा डेढ सातायता ७ जनाले क्वारेन्टाइनमै ज्यान गुमाएपछि त्रास बढेको छ । स्वास्थ्यकर्मीहरु नै ‘क्वारेन्टाइन ज्यानमारा घर जस्तो भएको’ भन्न थालेका छन् । भारतबाट भित्रिनेको ओइरो, कोरोना परीक्षण ठप्प रहेको, अस्तव्यस्त क्वारेन्टाइनले अवस्था भयावह हुन लागेको जनस्वास्थ्य क्षेत्रका जानकारहरुको बुझाई छ । यसबाहेक क्वारेन्टाइनमै सुत्केरी हुने, कोचाकोच गरेर बस्नु परेकाले कोरोना बाहेकका संक्रमणको जोखिम पनि बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
डोटीमा दुई महिला क्वारेन्टाइनमै सुत्केरी भएका छन् । दिपायल–सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएको स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले बताए ।
यस्तै, अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीस्थित नवदुर्गा माविको क्वारेन्टाइनमा बसेकी एक महिला पनि क्वारेन्टाइनमै सुत्केरी भएकी छिन् । यसै अवधिमा डडेलधुराको नगदुर्गा गाउँपालिकाको ४ सिरोडकी २१ वर्षीया सुत्केरीमा कोरोना संक्रमण पुष्टि भयो । ‘अहिलेका अस्तव्यस्त क्वारेन्टाइनले कोरोनाको संक्रमण सर्ने जोखिम त छर्दैछ, अन्य सरुवा रोगहरु पनि फैलिने खतरा भयो,’ सेती प्रादेशिक अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा। निराजनदत्त शर्मा पौडेल भन्छन्, ‘पूर्वतयारी अत्यन्त कमजोर भयो ।’
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबारसम्म सुदूरपश्चिममा क्वारेन्टाइनमा रहेकाको संख्या ६५ हजारभन्दा बढी छ । सुदूरपश्चिमका मुख्य सीमानाका कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीबाट आउनेक्रम नरोकिएकाले क्वारेन्टाइनमा संख्या अझै थपिने निश्चित छ । तर, व्यवस्थापन भने अस्तव्यस्त छ । इकान्तिपुरबाट यो समाचार हामिले साभार गरेको हौं ।






