यूएईबाट रित्तै हात फर्किएका भन्छन् : आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ

जनपत्र
२५ जेष्ठ २०७७, आईतवार ०७:१६

काठमाण्डौ – शुक्रबार राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा रोकियो ।

संयुक्त अरब इमिरेट्स यूएईबाट एयर अरेबियाको जी नाईन १७५१ नम्बरको उडानमार्फत त्रिभुवन विमानस्थलमा साँझ ५ बजेर ३६ मा अवतरण भएपछि त्यहाँको प्रक्रिया पूरा गरेर सेनाले ६१ नेपाली राति ८ बजे भक्तपुरका दुई होल्डिङ सेन्टरमा ल्याएको थियो ।

बईबाट फर्किएकामध्ये प्रदेश १ का ४१ इम्पिरियरमा र प्रदेश २ का २० नागरिक हेरिटेजस्थित नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा आएपछि जब बसबाट उनीहरु झर्दैै थिए, उनीहरुको मुहारमा थोरै खुशी धेरै पीडा देखिन्थ्यो ।

एकाध व्यक्तिको हातमा मात्रै सुटकेश थिए, आउनेमध्ये अधिकांशको हातमा एउटा सानो झोलाबाहेक केही थिएन । रित्तै हात आउने कतिपयको खुट्टामा चप्पल, आङमा पुरानो टिसर्ट र हाफ पाइन्टमात्रै थियो । लाग्थ्यो उनीहरु विदेशबाट होइन, कतै कारखानामा मजदुरी गरेर फर्किरहेका छन् ।

दुबईबाट ११ महिनामा स्वदेश फर्किएका बाराका अशोक सहनीले आठ महिना पनि राम्रोसँग काम गर्न पाएनन् । विदेश जाँदा लिएको ऋण जिउँदै छ, आमा, श्रीमती, तीन छोराछोरीको सपना दुबईमै सेलाएर उहाँ रित्तै हात फर्किनुभयो । कारोना भाइरस (कोभिड–१९) को महामारी फैलिएसँगै तीन महिना बेरोजगार बस्नुपर्दाको तलब पनि पाएनन । एक महिना खाना दिएको कम्पनीले त्यसपछि छाडेर जान ताकेता गर्‍यो ।

नेपाल फर्कने टिकटसम्म लिने पैसा बल्ल जोहो गर्न सक्नुभयोे, लिएर आउनुभयो त केवल सिङ्गो शरीर । सहनी भन्नुहुन्छ, ‘धेरै सपना बोकेर गएको थिएँ, ऋण तिरौँला, आमा, श्रीमती र सन्तानलाई नयाँ लुगा ल्यादिउँला, तर फर्किंदा रित्तो ज्यान लिएर आएको छु, आफ्नै देशमा फर्किन पाएँ, यसैमा आफूलाई भाग्यमानी ठानेको छु ।’

सप्तरी कञ्चनपुरकी सीतादेवी सतारको दुःख पनि कम छैन । घरमा छोराछोरी सासूको जिम्मेवारी श्रीमानलाई सुम्पिएर नौ महिनाअघि दुबई पुग्नुभएकी उहाँ एउटा घरमा काम गर्नुहुन्थ्यो ।

विदेश जाँदा देखेका सारा सपना एउटा प्लाष्टिकको झोलामा पोको पारेर फर्किनुभएकी उहाँ कोरोनाको कहरसँगै दुई महिना जेलमा बस्नु पर्‍यो । ‘सात महिनामात्रै काम गरेँ, कोरोना फैलिएपछि घर मालिकले जबर्जस्ती कामबाट निकालिदिए, कामबाट ननिकाल्न अनुरोध गर्दा जेल पठाइदिए’, उहाँले भन्नुभयो, ‘मेरो काम गरेको पैसा पनि खोसे, अब घर फर्कन पाउँछु कि पाउन्न भन्ने लागेको थियो, त्यहाँको सरकारले जेलबाट झिकेर नेपाल पठाइदियो, अब त बाँचियो, आफ्नै देशमा आएँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*