लकडाउनले काम गर्न नपाउँदा भोकै
कहिले दुई तल्ला माथिको कोठामा पुग्छन् त कहिले कोठाबाट थिरबम मार्ग नक्सालको मुल सडक छेउमा आएर टाउकोमा हात लगाएर एकहोरो हेरिरहन्छन् । ‘छोरी बिरामी छिन् । कोठामा खानेकुरा छैन । छोरीलाई के भयो ? भनेर सोध्ने बाहेक म केही गर्न पनि सक्दिन,’ उनले भने ।
लकडाउन लम्बिदै जाँदा ठाकुरको परिवार मागेर खाने अवस्थामा पुगेका हुन् । उनीसँग काठमाडौंमा ३० वर्षसम्म कपाल काटेको सीप छ । काठमाडौं घट्टेकुलोमा शैलुन पनि खोलेका छन् । उनको पसल ७५ दिनदेखि बन्द छ । घरमा खानेकुरा सकिएपछि ७४ औं दिन उनी नक्सालबाट हिँड्दै घट्टेकुलो स्थित पसलमा पुगे । सटर खोले । दुई जनाको कपाल पनि काटे । अरु दुई जना पनि कपाल काट्ने लाइनमा थिए । तर, घरबेटीले खोल्नै दिएनन् ।
७५ औं दिनको दिन शनिबार फेरी गए । घरबेटीले तीन महिनाको घर भाडा नतिरेसम्म खोल्नै नदिने भन्दै गलहत्याएर निकालेको उनले बताए । ‘ग्राहक पनि थिए । तीन महिनाको भाडा तिर अनि मात्रै पसल खोल्न भनेर मलाई नै तानेर बाहिर निकाले,’ वीरगन्ज स्थायी घर भएका ठाकुरले भने,‘लकडाउन खुलेपछि कमाएर दिन्छु भनेर बिन्ती गरे । तर, मेरो कुरा सुनेनन् । मलाई बाहिर निकालेर ताल्चा लगाइदियो । तीन महिनाको भाडा देऊ अनि खाली गर भन्नु भएको छ ।’ कमाउने ठाउँ नै बन्द भएपछि उनी थप अत्तालिएका छन् । ‘अब परिवार कसरी पाल्नु ?,’उनले भने,‘अरु पसल खुल्न थाल्दा मेरो बन्द हुने भयो ।’
पसल मात्रै होइन उनीहरुको चुल्हो शनिबारदेखि बन्द भएपछि उनी थप अत्तालिएका हुन् । कोठामा एक मुठी जति आँटा राहतमा आएको आधा किलो दाल बाहेक ठाकुरको परिवारसँग केही छैन । दुई वटा ग्यास सिलिन्डर मध्ये एउटा रित्तो छ । ‘एउटा पनि लकडाउन अघि नै चलाएको हो सकिन लागेको छ,’ठाकुरले भने,‘बिहान त थोरै चामलको जाउलो बनाएका थियौं । त्यही बाँडेर खायौ । भरे त के खाने केही छैन ?’
लकडाउनले पसल खोल्न नपाएपछि न कोठाको भाडा तिर्न सके न त पसलको । खानेकुरा समेत नभएपछि छोराछोरीलाई भोकै राख्नु परेको उनले बताए । वडा कार्यालयले केही दिन दिएको राहतले शनिबार बिहान सकिएपछि उनी छटपटाएका हुन् । ‘भोकले छटपटाएर छोराछोरी रुन्छन् । उनीहरुलाई पेटभरी खुवाउन नसक्दा आफू पनि एक्लै बसेर रुन मन लाग्छ,’ उनले भने ।
ठाकुरले मासिक ९ हजार रुपैयाँमा सटर भाडामा लिएका थिए । लकडाउन भएपछि उनले भाडा तिर्न सकेका छैनन् । ‘घरमा अहिले खायो भरे के खाऔं भन्ने छ,’ उनले भने,‘यता घरबेटीले तीन महिनाको भाडा तिरेर अब पसल नै अन्यत्र लैजान भनेका छन् ।’
वीरगन्ज माइस्थानका उनी ३० वर्षदेखि काठमाडौंलाई कर्मभूमि बनाएर कपाल काट्ने पेशा अपनाइरहे । कमाल काटेरै कमाएको पैसाले छोराछोरीलाई निजी स्कुलमै पढाए । यसअघि पसलको सटर भाडा ९ हजार र नक्सालको दुई वटा कोठा भाडा आठ हजार कहिल्यै बाँकी राखेनन् ।
दुई छोरी मध्ये जेठी छोरी १२ कक्षामा र कान्छी ११ कक्षामा पढ्दै छिन् । छोरा १० कक्षामा पढ्छन् । जेठी छोरीलाई काम लगाउन जागिर नखोजेको पनि होइन । तर १२ कक्षा सकिएपछि मात्रै पाइने भन्दै धेरैले उनलाई आश्वासन दिए । लकडाउनमा तीनै जनाको अनलाइन कक्षा भइरहेको छ । तर, उनीहरुसँग खानेकुरा छैन । ल्यापटप, कम्प्युटर र मोबाइल त परको कुरा । ‘घरमा खानेकुरा किन्ने पैसा त छैन,’कान्छी छोरीले भनिन्,‘कहाँबाट अनलाइन पढ्ने मोबाइल र रिचार्ज कार्ड किन्नु ?’ ठाकुरलाई छोरी पढाउँदाको ऋण नै दुई लाख छ । ‘एक लाख रुपैयाँ त फि तिर्नै बाँकी छ,’उनले भने ।