जीर्ण बन्यो विश्वविख्यात टाइगर टप्स
चितवन । नेपालको पर्यटन क्षेत्रको पायोनियर मानिने चितवनस्थित टाइगर टप्स होटल अहिले जीर्ण बनेको छ ।
विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सिकार पारखी, जंगल पारखी, सेलिब्रेटीहरू आउने टाइगर टप्स होटल अहिले सुनसान छ । रिसोर्टका संरचना भत्किँदै, बिग्रिँदै गइरहेका छन् ।
‘अहिले साधारण काम गरिहेका छौं खास केही छैन, उराठ र उदास लाग्छ,’ टाइगर टप्स होटलका प्रशासकीय प्रवन्धक रामसिंह गुरुङ भन्छन्, ‘टाइगर टप्सको त्यो चार्म सकियो, मुलुकलाई घाटा भयो, अन्तर्राष्ट्रिय बजारमा नेपालको वाइल्ड टुरिज्मबारे नकारात्मक धारणा गयो, यो दुःखद छ ।’
कुनै बेला विश्वस्तरमा नै चर्चामा रहेको टाइगर टप्स अहिले संग्रहालय बन्दै गएको छ । नेपालको पहिलो जंगल सफारी होटल हेर्नका लागि भन्दै निकुञ्ज घुम्नेहरु आउने गरेको होटलका प्रवन्धक गुरूङ बताउँछन् । सौराहा, कसरा लगायतका क्षेत्रबाट जीप सफारीमा आउनेहरू टाइगर टप्स होटल हेर्न भनेर आउने गरेको उनी बताउँछन् । ‘निकुञ्ज भित्रको एउटा पर्यटकीय गन्तव्य जस्तो बनेको छ टाइगर टप्स,’ गुरूङ भन्छन्, ‘हामीले कसैलाई पनि रोकतोक गरेका छैनौं, आउनुहुन्छ, फोटो खिच्नुहुन्छ, त्यस्तो चर्चित होटल बन्द भएको देखेर दुःख मानेर फर्किनुहुन्छ ।’
किन बन्द भयो ?
जंगली जनावरको सुरक्षामा गम्भिर असर परेको निष्कर्षसहित सर्वोच्च अदालतको २०६९ को आदेशअनुसार चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सन्चालित टाइगर टप्ससहितका होटलहरु बन्द भए । होटल बन्द भएको ८ वर्ष भइसक्यो, तर अझै पनि चलाउन पाइन्छ की भन्ने आशमा होटल सन्चालक ।






