कोरोना निको नहुँदै सेती अस्पतालले गर्यो ६ जनालाई डिस्चार्ज

कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ६ जना संक्रमित निको नहुँदै डिस्चार्ज भएका छन् ।
अस्पतालमा उपचाररत बाबुछोरी सहित ६ जना कोरोना संक्रमितलाई शुक्रबार डिस्चार्ज गरेको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो ’श्रेष्ठले भने ‘लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्ने निर्देशिका आएको छ । हामीले त्यही निर्देशिकामा टेकेर डिस्चार्ज गरेका हौँ ।’
अस्पतालले शुक्रबार अछामको मेल्लेख गाउँपालिका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका– १ का २० र २७ बर्षीय पुरुष, वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरेको हो ।
उनीहरु भारतबाट जेठ ८ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए । सूचना अधिकारी श्रेष्ठले चिकित्सकको सल्लाहमा उनीहरुलाइ डिस्चार्ज गरेको बताए ।
सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने उनीहरु सबैको एक पटक पीसीआर विधिबाट परीक्षण गरेको र त्यसपछि नगरेको बताए ।
‘स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरुलाई हामीले डिस्चार्ज गरेका हौँ’ उनले भने ‘उनीहरुको स्वास्थ्य अवस्था पनि अहिले राम्रै छ । ’