दैलेखमा कोरोना कहर

जनपत्र
२३ जेष्ठ २०७७, शुक्रबार ०९:३२

काठमाडौं । कर्णाली प्रदेशको दैलेख जिल्ला अहिले कोरानाको सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ । भारतबाट आएकाहरुको समयमै परीक्षण र व्यवस्थापन गर्न नसक्दा गाउँमा संक्रमण अनियन्त्रित बन्न थालेको छ ।

कर्णालीको पनि दैलेख उच्च जोखिममा देखिएको छ । बिहीबार एकैदिन दैलेखमा थप ११३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै दैलेखमा मात्र कोरोना संक्रमितको संख्या २०० नाघेको छ । सदरमुकामसमेत रहेको नारायण नगरपालिकामा मात्रै १९५ जना संक्रमित छन् ।

केही दिनमै यस्तो अवस्था आउनु र नियनत्रण गर्न नसक्नुको कमजोरी र त्यहाँ नियन्त्रणका लागि भइरहेका प्रयासबारे यसो भन्छन्, नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का ।

बाध्यताले दोब्बर राख्नुपर्‍यो

हामीले सुरुमा एक सय ५ बेड क्षमताको क्वारेन्टाइन बनायौं । त्यसमा २० आइसोलेसन सरस्वति आधारभूत विद्यालयमा बनायौं । सुरुमा त हाम्रा क्वारेनटाइन खाली नै थिए । तर बैशाख १०, ११ र १२ गते जसरी भारतबाट नागरिकहरु जिल्ला फर्किए त्यसपछि हामीलाई व्यवस्थापनमा कठिनाइ भयो ।

सुरुमा बनाइएका क्वारेन्टाइन मापदण्डअनुसार नै थिए । तर, ठूलो संख्यामा नागरिकहरु भारतबाट आएपछि हामीले एक सय ५ बेड क्षमताको क्वारेन्टाइनमा दुई सयभन्दा बढीलाई राख्नुपर्‍यो । पछि मापदण्डअनुसार हुन सकेनन् ।

धमाधम दैनिक संयौंको संख्यामा भारतबाट आउन थालेपछि हाम्रा वृद्धाश्रम, पार्टी कार्यालय, स्कुलका भवन, सामुदायिक संस्थाका भवन सबैमा राख्ने निर्णय गर्‍यौं । तर, पनि स्रोत साधन अभाव र जनशक्ति नहुँदा हामीले व्यवस्थापन गर्न सकेनौं ।

पीसीआर रिपोर्ट नआउँदा समस्या

हामीले यहाँ ल्याउनेबित्तिकै आरडीटी टेस्ट र पीसीआर टेस्ट सुरु गर्‍यौं । तर पीसीआरको रिपोर्ट धेरै समयसम्म नआउँदा नागरिक आक्रोशित हुन थाले । नारायण आधारभूत विद्यालयमा बसेकाहरुको रिपोर्ट त अहिलेसम्म आएको छैन । यस्तै सरस्वति माविमा बसेकाको पनि आएको छैन ।

आधाको आउने र आधाको रिपोर्ट नआउँदा मानिसहरु ससंकित बनेका छन् । रिपोर्ट नआउने र चाप बढी भएकाले संघीय सरकारको पत्र अनुसार हामीले १० दिनसम्म क्वारेन्टाइनमा रहेका, लक्षण नदेखिएका, तथा आरटीडी नेगेटिभ रिपोर्ट आएकालाई होम क्वारेन्टाइनमा पठाउने निर्णय गर्‍यौं ।

सोही अनुसार हिजोसम्म तीन सय जति घर गइसकेका छन् । आज केही थप गरी सातसय सम्म होम क्वारेन्टाइनमा जान्छन् होला । उनीहरुलाई घर जाँदा पनि क्वारेन्टाइनमा पालना गर्नुपर्ने नियमहरुबारे प्रतिबद्धता गराएर मात्रै पठाइएको हो ।

सुरुमा क्याम्पसमा रहेका ३५ जनामा आरडीटी गर्दा ३५ जनामा पोजेटिभ देखिएको थियो । उनीहरुलाई अन्यत्र सार्‍यौं । उनीहरुको पीसीआर परिपोर्ट पनि आएको छैन । हिजोको दिनसम्म आरडीटी पोजेटिभ भएकालाई सम्बन्धित ठाउँकै क्वारेन्टाइनमा छुट्टै कोठामा राखेका छौं ।

हाम्रा अभिभावकले हेरेनन्

सुरुमै ३५ जनाको रिपोर्ट पोजेटिभ आएपछि नै हामीले हाम्रा अभिभावकका रुपमा ठान्ने प्रदेश सरकार र संघीय सरकालाई सहयोगको अपिल गर्‍यौं । यस्तो अयावह स्थितिमा हामीले संघ र प्रदेश सरकारबाट अभिभावकत्वको भूमिका निर्वाह हुने अपेक्षा गरेका थियौं । तर, हामीले दुवैबाट पाउन सकेनौं ।

प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्री माननिय सबैलाई गुहार्‍यौं । संघीय सरकारका मन्त्री माननिय सबैलाई अनुरोध गरेर आइसोलेसन भरिने सम्भावना भयो अब केही सहयोग गर्नुहोस् भन्यौं । सबै आउँदा यति क्षमताले पुगदैन् । प्रदेश अस्पतालमा लैजानु पर्‍यो भन्दा कसैले सुनेनन् ।

मन्त्री भएका जिल्लामा हेलिकप्टरबाट स्वाब संकलन हुने भइरहेको छ । तर, प्रदेेश राजधानीबाट जम्मा तीन घण्टाको दूरीमा रहेको दैलेखलाई यति धेरै वेवास्ता गरियो कि अहिले हामीलाई नियन्त्रणमा लिन हम्येहम्ये भएको । आवजको विपद् व्यवस्थापन समितिको बैठकबाट आगामी रणनीति कस्तो बनाउने भन्ने निर्णय गर्नेछौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*