सरकार ! पेटभरी खान मन छ

खान नपाउनु त छँदै थियो, जमिनदारले उठेर जान उर्दी गरेपछि बस्तीमा अर्काे पीर थपिएको छ ।
जनपत्र
२३ जेष्ठ २०७७, शुक्रबार ०७:३७

छिन्‍नमस्ता, सप्तरी — तीन दिनदेखि पखाला चलेर शिथिल भएका चारमहिने शिशु शिवम् सदा आमाको काखमा लमतन्न छन् । उनकी १७ वर्षीया आमा राधादेवी घरि शिवम्को अनुहार हेर्छिन् घरि आगो नबलेको चुलो हेरेर टोलाउँछिन् । अघिल्लो रात भोकै सुतेकी राधाको पेटमा बुधबार साँझ हामीसँग भेट हुने बेलासम्म एक–दुई टुक्रा आँप र अलिकति नुनमात्रै परेको छ र यसको सीधा असर शिवम्‌मा देखिन्छ । कैयौं दिनदेखि आगो नबलेको आँगनछेउको चुलो ओसिएको छ, हावाले उडाइदिएपछि चुलोमा खरानीसमेत बाँकी छैन ।
राधादेवीले डेढ वर्षअघि सप्तरी छिन्नमस्ता गाउँपालिका–३ का लखन सदासँग बिहे गरिन् । चार महिनाअघि उनका छोरा जन्मिए । राधा गर्भवती भएकै बेला पति लखन कमाउन भारतको पन्जाब गए । वृद्ध सासूससुरासँग उनी यतै छुटिन् । साढे दुई महिनाअघि देशमा लकडाउन सुरु भएपछि उनीहरूले गुजारा चलाउन गर्ने सबैतिरका काम ठप्प भए, साथमा पेट भर्ने उपाय पनि रोकियो । लकडाउन लम्बिँदै जाँदा संकट चुलिँदै गयो ।

पेटभरी खाना नहुँदा राधादेवीले आफ्नो शिशुलाई दूध खुवाउन सकेकी छैनन् । ‘दूध आउनै छोड्यो,’ उनले भनिन्, ‘लकडाउन भएपछि एक दिन पनि पेटभरी खान पाइएन, अहिले त झन् खाने कुरा केही छैन ।’

आमाको दूध नवजात शिशुका लागि सबभन्दा पोसिलो आहार हो । जनस्वाथ्यविद्हरू ६ महिनासम्म आमाको मात्र दूध खुवाउन सुझाव दिइरहेका हुन्छन् । त्यसका लागि सुत्केरी आमाले नै पोसिलो खानेकुरा खानुपर्ने हो, तर राधादेवीले पोसिलो त के पेट भर्नका लागि रुख्खासुख्खा खानसमेत पाएकी छैनन् ।

‘घरमा चुलो त बलेको छैन, कहाँबाट बच्चालाई दूध खुवाउनु रु’ उनले दुखेसो पोखिन् ।

दूध खान नपाउँदा शिवम् सदामा कुपोषणको लक्षण देखा पर्न थालेको छ । ‘बच्चा हेर्दा कुपोषणको लक्षण सुरु भइसकेको जस्तो देखिन्छ,’ पोषण पुनस्स्थापना गृह राजविराजकी प्रमुख रश्मि झाले भनिन्, ‘यो बच्चालाई आमाको दूध र पोसिलो खानेकुरा भएन भने गम्भीर असर पर्दै जान्छ ।’ १० दिनअघि कान्तिपुर राधादेवीको घरमा पुग्दा उनी बुधबारभन्दा केही ह्ष्टपुष्ट थिइन् ।

‘हाम्रा लागि कोरोना होइन, यो लकडाउनमा भोक नै काल बनेर आएको छ,’ उनले भनिन्, ‘यो बेलामा हामी भोकले छटपटाउँदा कसैले पनि हेरेनन् ।’

छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरमा रहेको नेपाल–भारत सीमा स्तम्भछेउ उनको घर छ । राधादेवीसहित दशगजामा बसिरहेका १५ परिवार लकडाउनअघिसम्म सीमासँगै जोडिएको भारतीय बस्ती न्योरमा गएर ज्याला मजदुरी गर्थे । अहिले लकडाउन छ, पारिपट्टि पाइला राख्न पाउँदैनन्, यताका जनप्रतिनिधिले फर्किएर पनि हेर्दैनन् ।

यस्तोमा भोकसँग सम्झौता गर्नुको अर्को विकल्प राधासँग छैन । थाहा छैन, यो लडाइँमा राधा र उनका छोरा शिवम्ले जित्छन् या भोकले । छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलका अनुसार उनी त्यो बस्तीका नागरिकको हालखबर बुझ्न साताअघि दशगजा पुगेकी थिइन् । आफ्ना मतदाताको घरमा चुलो नबलेको उनले देखेकी पनि हुन् । ‘मैले हेरेर आएकी छु,’ मण्डलले कान्तिपुरसँग भनिन्, ‘अब केही दिनमा राहत पुर्‍याइदिन्छु ।’ पटकपटक नाम लेख्नमात्र आउने तर खाना या कामको उपाय लिएर नआउने जनप्रतिनिधि देखेर यी नागरिकको मन असाध्यै दुखेको छ । ‘पटकपटक नाम लेखेर लगे, तर अहिलेसम्म कोही राहत दिन आएका छैनन्,’ सोही ठाउँकी विन्दादेवी सदाले भनिन्, ‘कति छाक भोकै बस्यांै, कति छाक त अरूको बगैंचाबाट ल्याएको काँचो आँप र नुन खाएर दिन काट्यौं, आजै पनि काँचो आँप र नुनबाहेक पेटमा केही परेको छैन ।’

‘बालबच्चा भोक लाग्यो भनेर रुन्छन्, उनीहरूभन्दा धेरै मेरै मन रुन्छ,’ विन्दादेवीले भनिन् । चार सन्तानकी आमा विन्दादेवीको पनि आँगनमा रहेको चुलो नबलेको साता बढी भयो । ‘नजिकको बस्तीमा गएर मागेर केही पाए खाने हो,’ उनले भनिन्, ‘अहिले त कसैले आँगनमा टेक्न पनि दिन्नन, हात जोडेर बिन्ती गरेपछि कसैले दिए भने ल्याएर छोराछोरीलाई खुवाउने हो ।’ तर उनीहरूको बिन्ती सबैले सधैं सुन्छन् भन्ने छैन । त्यसैले माग्न जाँदा अन्नभन्दा धेरै अपमान बोकेर फर्किन्छन् विन्दाहरू । ‘तपाईं सरकारलाई केही भन्न चाहनुहुन्छ रु’ कान्तिपुरको यो प्रश्नमा विन्दाले उल्टै प्रश्न गरिन्, ‘हाम्रा लागि खोइ कहाँ छ र सरकार ?’ आजको कान्तिपुर दैनिकबाट यो समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*