गरिबी पहिलेदेखि थियो, लकडाउनले गाँसै खोसिदियो

जनपत्र
२२ जेष्ठ २०७७, बिहीबार ०७:४९

कमाउन भारत गएका युवा लकडाउनले उतै थुनिँदा यता परिवारको गाँस खोसिएको छ, अभावको ग्राफ बढेर ठोक्किन बाँकी कुनै बिन्दु छैन ।
एक महिनासम्म सडकको काम गराएर विराटनगरबाट रित्तो हात पैदलै फर्काउने ठेकेदारले कमाइको ज्याला दिएको भए पनि पतिको मृत्यु भोककै कारण हुँदैनथ्यो कि ! जलेश्वरीको मनमा यो प्रश्न खेलिरहन्छ ।

पथरी, सप्तरी — लकडाउन सुरु हुनुभन्दा महिना दिनअघि ५० वर्षीय मलर सदा मजदुरीका लागि विराटनगर गएका थिए । एक महिना जति काम गरे । लकडाउन जारी रहेको महिना दिनसम्म साहुले काम गरेको पैसा दिएनन्, बन्द खुलेपछि मात्रै पैसा आउने भएपछि उनलाई विराटनगर बसिरहन मन लागेन ।

१२० किलोमिटर पैदलै यात्रा गरेर मलर आफ्नै गाउँ सप्तरीको पथरी आइपुगे । यता घरमा रित्तिएका भाँडाकुँडा र भोको पेटसहित जीवनसंगिनी जलेश्वरी सदा श्रीमान् र उनले बोकेर ल्याउने कमाइ पर्खिबसेकी थिइन् ।

‘उनी त रित्तै हात आए,’ भोकसँग पराजित भएर मलरले प्राण त्यागेको १४ औं दिनमा कान्तिपुरसँग जलेश्वरीले भनिन्, ‘साहुले बन्द खुलेपछि पैसा दिन्छन्, लिन जानुपर्छ भनेका थिए, पहिल्यै गए ।’ विराटनगरबाट रित्तो हात फर्किएको करिब एक महिनापछि पाँचौं दिनको भोक खप्न नसकेर गत जेठ ६ गते मलर सदाको निधन भयो । ‘५ गते बेलुकासम्म केही खानेकुरा ल्याएर आउँछु भनेर कोदालो र छाता लिएर गएका थिए, नातिले खेतमा लडिरहेको खबर पो लिएर आयो,’ जलेश्वरीले भनिन्, ‘अरू कोही थिएनन्, बुहारीहरूले बोकेर ल्याए ।’

मलर अन्नको जोहो गर्न हिँडेपछि जलेश्वरी बुहारीहरूसँगै खाना पकाउने दाउरा लिन कोसीटप्पुको जंगलमा पुगेकी थिइन् । अहिले पनि झुपडीमा उनले खोजेर ल्याएको दाउरा र गुइँठाको खात छ । तर त्यसमा पकाएर खाने अन्न छैन । केही कमाउँला भनेर भारतको गुजरात गएका मलर–जलेश्वरीका तीन छोरा उतै अलपत्र छन् । उनीहरू यही भएको भए कमाइ गरेर ल्याउने विकल्प बाँकी रहन्थ्यो कि † एक महिनासम्म सडकको काम गराएर विराटनगरबाट रित्तो हात पैदलै फर्काउने ठेकेदारले कमाइको ज्याला दिएको भए पनि उनको मृत्यु भोककै कारण हुँदैनथ्यो कि † जलेश्वरीको मनमा यतिबेला यस्तै प्रश्न खेलिरहेका छन् ।

दिनभरि छरछिमेकी गुहारेपछि कलर सदाले डेढ सय रुपैयाँ जम्मा पारे । नजिकै हटिया लागेको ठाउँमा पुगे, अलिकति माछा र त्यसमा हाल्ने मरमसला किनेर ल्याए । मृत्युको १३ दिनपछि माछामासु खाएर वर्षभरिका लागि मासु फुकाउने चलन छ । त्यही चलनलाई निरन्तरता दिन कलरले आफ्ना जेठान मलरले संसारबाट बिदा भएको १४ औं दिनमा माछाको जोहो गरेका हुन् । तर त्यस परिवारमा संस्कार धान्न ल्याएको त्यही माछा र जंगलबाट टिपेर ल्याएको अलिकति निगुरोको सागबाहेक अर्थाेक केही छैन ।

कमाउन भारतको गुजरात पुगेका दुई छोरा उतै फसेका छन् । कहिले फर्किने ठेगान छैन, फर्किए पनि खान अन्न छैन, मजदुरी गर्ने ठाउँ छैन । हरेक साँझ–बिहान चुलो बाल्दा कलरकी श्रीमती हसियादेवीलाई चार नातिनातिना, दुई बुहारी र आफूहरूको थालमा के भाग लगाउने भन्ने पिरलो परिरहन्छ । ‘पहिले हामीले यता ज्याला मजदुरी गथ्र्यौं, छोराहरूले भारतबाट अलिअलि कमाएर ल्याउँथे, बिहान–बेलुका खान पाइन्थ्यो,’ हसियादेवीले भनिन्, ‘अब कसरी बाँच्ने, कहिलेसम्म बाँच्ने, भगवान्ले नै जानुन् ।’ हसियादेवीको परिवार टोलकै सम्पन्नमा पर्छ किनभने उनीहरूका नाममा तीन धुर जग्गा छ । अरूको यत्ति पनि छैन । अहिले भोकसँग लडिरहेकी हसियादेवी र १५ दिनअघि भोकसँग पराजित भएर प्राण त्यागेका मलर सदा दाजुबहिनी हुन् ।

६० वर्षीय शिव सदा र उनकी श्रीमती फिनादेवीको गरिबीसँगको साइनो त पुरानै हो तर अहिले जुन हालत छ, यो अवस्थामा पुगिएला भनेरचाहिँ उनीहरूले कहिल्यै सोचेका थिएनन् । बिहान–बेलुकै काम गरेर छाक टार्ने यो परिवारको भण्डार लकडाउनपछि रित्तिएको छ । श्रम बेचेर हातमुख जोर्ने बानी परेर होला, ६ जनाको परिवारका लागि राहतमा आएको १० किलो चामल छेउ बराबर पनि लागेन । त्यही बीचमा शिवले खाने औषधि पनि सकियो । ‘राहतमा आएको ५ किलो चामललाई ४० रुपैयाँको दरले २ सयमा बेचें, त्यही पैसाले श्रीमान्ले खाने औषधि किनें,’ फिनादेवीले भनिन्, ‘राहतभन्दा काम दिए हुन्थ्यो ।’ अहिले त त्यही औषधि पनि सकिएर शिवको खुट्टाको घाउ बल्झिरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*