चरिकोट अस्पतालले एकैपटक हटायो ३७ स्वास्थ्यकर्मी

लकडाउनको समयमा बजेट अभाव भएको भन्दै चरिकोट अस्पतालमा कार्यरत ३७ जना स्वास्थ्यकर्मी हटाइएको छ । स्वास्थ्यकर्मी हटाएको विरोधमा तीन दिनदेखि अस्पताल तनावग्रस्त छ । न्याय हेल्थ नामक गैरसरकारी संस्थाले व्यवस्थापन गर्दै आएको अस्पतालमा एकैपटक धेरै स्वास्थ्यकर्मी हटाएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।
२०७२ माघदेखि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटसँगको सहकार्यमा न्याय हेल्थ नेपालले सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार अस्पताल सञ्चालन गर्दै आएको छ । अस्पतालमा कार्यरत एक सय ३० भन्दा धेरै स्वास्थ्यकर्मीमध्ये ३७ जनालाई कोरोना महामारीका वेलामा हटाइएको हो ।
सेवाबाट हटाइएकाले सोमबारदेखि अस्पताल प्रांगणमा नाराबाजी गर्दै आएका छन् । उनीहरूले सोमबार पत्रकार सम्मेलन गर्दै नौबुँदे माग सार्वजनिक गरेका थिए, तर आफ्ना मागबारे कुनै सम्बोधन नभएको उनीहरूले बताएका छन् । सेवाबाट हटाइएका स्वास्थ्यकर्मीले नेपाल सरकार र न्याय हेल्थबीच भएको सम्झौताअनुसार अस्पताल चल्नुपर्ने, अस्पतालभित्र यातायात, खाना, खरिदलगायतका शीर्षकमा व्यापक अनियमितता भएको भन्दै निष्पक्ष छानबिन गर्न सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएका छन् । नया पत्रिकाबाट