डायलसिसमा चरम लापर्बाही

लकडाउनका बेला वीरगन्जस्थित नेसनल मेडिकल कलेजको शिक्षण अस्पतालमा डायलसिस गराउँदा ५ सातामै ७ को मृत्यु
जनपत्र
२१ जेष्ठ २०७७, बुधबार ०७:५०

वीरगन्ज — पर्साको बहुदरमाई गाउँपालिका–७ भौराटारका २७ वर्षीय कृष्ण ठाकुरले गत वैशाख ३० मा वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा डायलसिस गराए । डायलसिसपछि घर फर्किएका ठाकुरको स्वास्थ्य अचानक बिग्रियो । उनलाई पुनस् नेसनलकै आईसीयूमा भर्ना गरियो । अन्ततस् जेठ ५ मा उनको मृत्यु भयो ।

सरकारले नारायणी अस्पताललाई लेभल–२ स्तरको कोभिड–१९ अस्पताल घोषणा गरेपछि सरकारकै सिफारिसमा त्यहाँ डायलसिस गराइरहेका बिरामी पनि उपचारका लागि नेसनल जाँदै आएका छन् । कृष्णका भिनाजु सन्तोष ठाकुरका अनुसार नेसनलमा डायलसिस गरेको पहिलो पटकदेखि नै उनको स्वास्थ्य बिग्रिन थालेको थियो । ‘नारायणी अस्पतालमा करिब ४ वर्षसम्म डायलसिस गराउँदा कुनै गम्भीर समस्या आएको थिएन,’ सन्तोषले भने ।

उनका अनुसार नारायणीबाट नेसनलमा डायलसिस गराउन आएका अन्य बिरामीभन्दा २७ वर्षीय कृष्ण तन्दुरुस्त नै थिए । नारायणीमा डायलसिस गराउँदा उनी एक्लै १९ किलोमिटर टाढा रहेको घरबाट वीरगन्ज आइपुग्थे । ‘नेसनलका चिकित्सक यहाँको डायलाइजरको रसायन नारायणीको भन्दा फरक भएकाले समस्या आएको र केही दिनमा बिरामी सुहाउँदो भइहाल्छ भन्थे,’ सन्तोषले भने, ‘तर रसायन बिरामी सुहाउँदो बनाउँदा–बनाउँदै उसको ज्यानै गयो ।’

गत वैशाख ९ मा वीरगन्ज महानगरपालिका–१२ मुर्ली नैयका टोलका ४५ वर्षीय नासरिन बानो श्रीमान् मोहम्मद कलाम शेखलाई साथमा लिएर डायलसिसका लागि नेसनल पुगिन् । ‘डायलसिस गर्दागर्दै अवस्था गम्भीर भएपछि उनलाई आकस्मिक कक्षमा लगियो,’ शेख भन्छन्, ‘आकस्मिक कक्षमा पुर्‍याएको केही समयभित्रै उनको मृत्यु भयो ।’ नारायणीमा डायलसिस गराउँदासम्म श्रीमतीको स्वास्थ्य स्थिर रहेको उनी बताउँछन् ।

रौतहट नगरपालिका–६ सवगौडा निवासी ५० वर्षीय तैबुन नेशा विगत २ वर्षदेखि ना रायणी अस्पतालमा डाइलसिस गराउँदै आएकी थिइन् । सरकारले नारायणीका मिर्गौला बिरामीलाई नेसनलमा उपचार गराउन भनेपछि उनी पनि त्यहाँ डायलसिस गराउन गएकी हुन् । जेठ ८ मा डायलसिस गराएर फर्किंदा बाटोमै उनको अवस्था बिग्रियो । ‘डायलसिस गराएर मोटरसाइकलमा घर फर्किंदै थियौँ, आधा बाटोमा तैबुनले उल्टी गरिन्,’ नेशाका श्रीमान् शेख सफिउल्लाहले भने, ‘भोलिपल्ट राति १ बजेर १० मिनेटमा उनले प्राण त्यागिन् ।’

नारायणीमा अस्पतालका अनुसार यहाँ डायलसिस सेवा बन्द भएपछि नेसनल पुगेका ४० जना मिर्गौला रोगीमध्ये ७ जनाको डायलसिस गर्ने क्रममै मृत्यु भएको छ । करिब पाँच साताको बीचमा रौतहटका रञ्जित मण्डल र तैबुन नेशा, वीरगन्जका नागेन्द्र झा र नसरिन बानो, सर्लाही हरिवनका अजय कार्की, बारा देवतालका नन्दलाल महतो र कृष्ण ठाकुरको मृत्यु भएको नारायणी अस्पतालका मिर्गौला विभागका स्वास्थ्यकर्मी नरेन्द्र कुशवाहाले बताए । इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*