मजदुरहरु भन्छन्, ‘डराएर भोकै बस्नु भन्दा रोग लाग्नु बेस’

काठमाडौँ — कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको ७१ दिन बिते पनि संक्रमण कम हुन सकेको छैन । हरेक दिन संक्रमितहरुको ग्राफ बढेको बढ्यै छ ।
लकडाउनका कारण अर्थतन्त्रमा नराम्रोसँग प्रभावित भएको छ । दैनिक ज्याला मजदुरी गरेर खानेहरुको दैनिकी लकडाउनसँगै दिनानुदिन गाह्रो हुँदै गएको छ । मकवानपुर घर भइ हाल इमाडोमा बस्ने ४८ वर्षीय अकलबहादर मोक्तान हाल इमाडोलमा बस्छन् । उनी घरमानै बनाएर स–साना आलुको चिप्स दालमोठहरु बनाएर पाँच जानाको परिवार जेनतेन पाल्दै आएका थिए । अहिले सबै ठप्प छ । अहिले उनको चिप्स किन्न आउने कोही छैनन् । आम्दानी नहुँदा उनको घरखर्च चलाउन धौधौ हुन थालेको छ ।
हामी जस्ताहरुलाई यो लकडाउनले साह्रै पीडा दियो,ु मोक्तानले भने । लगनखेल रुटको गाडी चलाउने ५३ वर्षीय भिमबहादुर स्याङताङ पनि लकडाउन सुरुभए देखि नै लगनखेल बसपार्कमा आफूले चलाउने गाडीमा नै बस्दै आएका छन् । ललितपुर गोटिखेल स्थायी घर भएका उनी घर जाँदा क्वारेन्टाइनमा राख्ने भनेपछि गाडी छोडेर जान पनि मन नलागेको बताउँछन् । केहीदिनअघिसम्म लगनखेल बसपार्कमै खाना बाँढिएपनि अहिले त त्यो बन्द भएपछि उनी के खाने भन्नेमा चिन्तित छन् । कहिले भोकै सुत्ने उनी हिजोआज भरियाको पनि काम गर्न थालेका छन् । उनी लकडाउन कहिले खुल्छ भन्ने चिन्तामा छन् ।
कैलाली घर भएका ६५ वर्षीय गोपाल विश्वकर्मा रिक्सा कुदाँउछन् । आफूसहित ६ जना लगनटोलमा बस्ने उनी रिक्सा चलाएर अहिले दैनिक सय दुई सय कमाउँछन् । त्यो पनि कहिले खाली बस्नुपर्छ तर व्यापार भएरनभए पनि रिक्साको साहुलाई दैनिक सय रुपैयाँ बुझाउनुपर्ने उनले बताए । अहिले उनलाई रोग लागेर आफू मरेपनि भोकले मर्न नपारोस भन्ने लाग्छ । भन्छन्,ुकति डराउनु, डराएर भोकै बस्नु भन्दा जे सुकै होस् अब भगवान भरोसा भनेर निस्किएको छु ।ु उनले एक पटक मात्रै राहत पाए । लकडाउन बढेसँगै उनी अब के खाने, के गर्ने भन्नेमा अन्योल छन् । इकान्तिपुरबाट साभार ।