व्यवसायीको आक्रोशः व्यापार गर्न नदिने, कर तिर्न ताकेता गर्ने ?

जनपत्र
२० जेष्ठ २०७७, मंगलवार १७:०८

काठमाडौं । सरकारबाट घोषित लकडाउनको अनुशासनपूर्वक पालना गरिरहेका जनताको अब भने धैर्यको बाँध टुट्न थालेको छ । दैनिक काम गरेर जीवन धान्नुपर्नेहरु असैह्य भएर लकडाउन खुकुलो गर्न माग गर्दै सडकमा निस्किन थालेका छन् ।

बौद्धका व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने भन्दै मंगलबार प्रदर्शन गरे । अन्य व्यापारीहरुले पनि आन्दोलनको तयारी गरेका छन् । सरकारले समयमा नै कर तिर्न ताकेता गरिसकेको तर व्यापार गर्न भने नदिएको उनीहरुको गुनासो छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारले तत्कालै पसल खोल्ने वातावरण नबनाए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले पहिलो चरणमा सरकारसँग सटर खुलाउन माग गरिने बताए । सरकारले आफ्नो मागलाई बेवास्ता गरे आन्दोलनमा जाने उनको भनाइ छ ।

‘२ महिना भन्दा धेरै समय लकडाउन हुँदा हाम्रो रोजीरोटी नै गुमेको छ, तर सरकार कर माग्छ, घरबेटीले भाडा माग्छन्, बैंकले किस्ता तिर भन्छ’ अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष कटुवालले भने, ‘हाम्रो माग पुरा नगरे हामी आन्दोलनमा होमिने छौं ।’

वार्ता र संवादको माध्यमबाट व्यवसायीहरुको समस्या समाधान सरकारले गर्नुपर्ने उनले बताए । सरकारले माग पुरा नगरेमा व्यवसायीहरु तालाचावी लिएर सडकमा उत्रिन तयारी अवस्थामा रहेको उनले चेतावनी दिए ।

‘महामारीको बेला छ, सरकारले घोषणा गरेको लकडाउनको हामीले पूर्ण पालना गरेका छौं, तर सधै यसरी नै हुँदैन नि’ उनले भने, ‘पसल व्यवसाय सञ्चालन नहुने हो भने हामी त डूब्छौं डुब्छौं, मुलुकको अर्थतन्त्र नै धराशायी हुन्छ ।’

सरकारले बजेटमा व्यवसायीहरुका लागि केही सहुलियत प्याकेज ल्याउने अपेक्षा गरिएको भए पनि त्यो पुरा नभएको उनको भनाइ छ । बजेटले उद्योगी–व्यवसायीलाई राहत हुने किसिमको कार्यक्रमहरु ल्याएको भए धेरै तनाब नहुने कटवाल ताउँछन् ।

सरकारले मंगलबार बात्रै कर तिर्न ताकेता गरेको उल्लेख गर्दै उनले भने, ‘हामीले पनि कमाएर राज्यलाई कर तिर्ने हो, कमाउन चाहिँ नदिने, अनि कर तत्कालै तिर भनेर ताकेता गने ठिक भएन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*