रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

जाजरकोट, काठमाडौं — प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्’ भन्ने म्यासेज नगरिदिएको भए जाजरकोटका नवराज विश्वकर्मा लकडाउनका बेला भेरी नदी तरेर पल्लो गाउँ जान हतारिने थिएनन् । प्रेमिकालाई घर भित्र्याउने सपना साँचेका उनी भेरी त तरे तर प्रेमिकाको हात समाएर घर फर्कन पाएनन् । आफ्ना पाँच साथीसहित उनी भेरीमै विलिन भए ।
७७ जेठ १० गते रुकुमपश्चिमको सोतीगाउँकी ती किशोरीले नवराज विश्वकर्मालाई सम्पर्क गरिन् । आफ्नो परिवारले अर्कै केटासँग विवाह गराउन लागेको तर आफूले स्वीकार नगरेको बताउँदै आफूलाई लिन साथीहरूसहित आउन आग्रह गरिन् । नवराजले १९ जना साथीहरूलाई साताअघि नै छिट्टै प्रेमिकालाई भगाएर ल्याउने योजना बनाएको भन्दै सघाउन सहयोग मागेका थिए । तर पछिल्लो म्यासेज आएपछि उनीसँग कुर्ने धैर्य भएन ।
खलंगाको रानागाउँबाट १० जना दिउँसो १२ बजेतिर रुकुम जान निस्किए । उनीहरू दुई घण्टामा भेरी नदी किनारको धल्ला भन्ने ठाउँमा पुगे, जहाँ अन्य ९ जना साथीहरू पर्खिरहेका थिए । घाइते सुदीप खड्काका अनुसार १९ जनाको टोली करिब डेढ घण्टासम्म सोही ठाउँमा अलमलियो । साढे ३ बजेतिर उनीहरू नवराजकी प्रेमिकाको गाउँ सोतीतिर लाग्यो । करिब ५ बजेतिर घरनजिकै पुगे ।
जाजरकोटको खलंगाबाट कालेगाउँनजिकैको झोलुंगे पुल हुँदै सोती पुग्ने छोटो बाटो भए पनि नवराज र उनका साथीहरू अलि तल पर्ने चौरजहारी नजिकैबाट घुमेर युवतीको गाउँ गएको देखिन्छ । त्यहाँ नवराजको टोलीमा अरू केही साथी थपिए भने त्यहाँबाट केही माथिको मटेला पुलनजिकै अरू पनि मिसिए । त्यसपछि करिब एक/डेढ घण्टा उकालो हिँडेर उनीहरू युवतीको घरनजिकै पुगे ।
नवराजसँगै गएका अनि आक्रमणपछि भागेर ज्यान जोगाएका एक जनाको बयानअनुसार साँझ ५ बजेतिर उनीहरू केटीको घरनजिक पुगेका रहेछन् । साथीहरूले ‘लफडा’ हुन सक्ने अनुमान गरी नवराजलाई टोपी र मास्क लगाएर नचिनिने बनाएका थिए । नवराज विश्वकर्मा र उनका साथीहरूलाई देख्नेबित्तिकै युवतीकी आमा प्रकाशी मल्लले ‘तँ…लाई कुटाइ अझै पुगेन ?’ भन्दै गालीगलौज गरिन् । उनैले चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ललाई फोन गरेर गुहार मागिन् र गाउँलेलाई बोलाउन लगाइन् ।
गाउँले आउने थाहा पाएपछि केही नबोली उनीहरू खलंगातिर ओरालो लागे । युवाहरू सोतीदेखि करिब १० मिनेटको बाटो हिँडेर करिब एक किलोमिटर तल गैरीनाउला भन्ने ठाउँमा पुगे । पानी मागेर खाए । नाउलामा रहेका केही अपरिचितले ‘बाबुहरू बस्नुहोस्, काफल खानुहोस्’ भन्दै अलमलाउन खोजे । उनीहरूको व्यवहारमा शंका लागेपछि नाउलामा नरोकिई उनीहरू अगाडि बढे ।