कोरोनाको लक्षण देखिएकी गर्भवतीको मृत्यु

जनपत्र
१३ जेष्ठ २०७७, मंगलवार १३:५७

सप्तरी । अत्याधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित सप्तरीको कञ्चनरुप ११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार कोरोनासंग मिल्दाे लक्षण देखिएकाले गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न पठाइएको थियो ।

अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनलाई १० दिनदेखि ज्वरो खोकी र श्वासप्रश्वासको समस्या हुँदापनि स्वाब परीक्षण नगरिएको परिवारका सदस्यले गुनासो गरेका छन् ।

गर्भवतीले वैशाख २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा खोप समेत लगाएकी थिइन् । विवाह दर्ता र नागरिकता समेत नबनाएकी मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् । कोरोनाको लक्षण देखिएकाले अहिले मृतक महिलाको स्वाब लिने तयारी भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*