कपिलवस्तुका दश कोरोना सङ्क्रमित निको भएर फर्के

रुपन्देही – कपिलवस्तुका १० जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना सङ्क्रमित निको भएर शनिबार घर फर्किएका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका सङ्क्रमितको लगातार दुई पटकको रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालका फोकल पसर्न डा. सुुदर्शन थापाले जानकारी दिनुभयो ।
निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको डाक्टर थापाले बताउनु भयो ।
यसअघि त्यसै अस्पतालबाट रुपन्देहीको कोटहीमाईका २५ वर्षीय युवक पनि निको भएर घर फर्किएका थिए । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाकाे उपचार भइरहेको छ ।
बाँकेको खजुरामा रहेकाे सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट पनि २१ जनाको कोरोना सङ्क्रमण निकाे भएर शुक्रबार घर फर्किएका थिए ।