कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयको त्रुटि : गाउँपालिकाको नाम फेरियो, वडा थपियो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको दैनिक विवरण सार्वजनिक गर्दा नियमित जसो त्रुटि गर्न थालेको छ ।
जसका कारण कन्ट्याक ट्रेसिङमा संलग्न अधिकारीलाई अफ्ठ्यारो त परेको छ नै संक्रमित नै नभएको ठाउँका सर्वसाधारणमा पनि त्रास फैलिएको छ ।
मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरसहित शुक्रबार बिहान ९ बजे सार्वजनिक भएको विज्ञप्तिमा गोडैता नगरपालिकाको ८, ९, ११, १३ र १४ नम्बर वडा र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८र ४९ वर्षका र १८ वर्षीय महिला संक्रमित रहेको भनिएको छ ।
यो सूचना सार्वजनिक हुनेवित्तिकै सर्लाहीको रामनगरमा १५ संक्रमित भेटिएको हल्ला फैलियो । ‘मन्त्रालयले स्पष्टसँग नलेख्दा गाउँमा त्रास सिर्जना भयो’, रामनगर–७ का वडाध्यक्ष रामसोगारथ तेली भन्छन्, ‘हाम्रोबाट जम्मा परीक्षण भएको संख्या नै ११ जना थियो ।’






