भारतबाट १६ सय नागरिक ल्याउँदै कर्णाली सरकार, सीमानामा आरडिटी परीक्षण
कर्णाली प्रदेश सरकारले भारतको विभिन्न स्थानमा विभिन्न सिलसिलामा रहेका १६ सय बढिलाई घर ल्याउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बुधबार रातिसम्म एक हजार दुई सय सात जना सुर्खेत आइपुग्ने र बाँकि बिहिवारसम्म आइपुग्ने बताए ।
भारतमा कोरोना भाइरसको संक्रमणको दर र त्रास बढेसंगै प्रदेश सरकारले भारतमा रहेका प्रदेशका नागरिक ल्याउन थालेको हो । मन्त्री भण्डारीका अनुसार सुर्खेतका २ सय ३० जना, सल्यानका २ सय ६७ जना, कालिकोटका ४४ जना, दैलेखका ५ सय र जाजरकोटका ७७ जनालाई नेपालगञ्जबाट ल्याइएको हो । प्रदेश भित्रिने सीमा नाकामा उनिहरूको आरडिटी जाँचपश्चात मात्रै जिल्ला पठाइने छ । उनले बिहिवारसम्म १ हजार ६ सय २८ जना आइपुग्ने बताए ।
“सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा भारतबाट ल्याइएका सबैलाई सिमानामा आरडिटी जाँच गरेर जिल्ला पठाउन लागेका हौं ।” उनले भने, “उनिहरूलाइ सम्बन्धित जिल्लामा अनिवार्य क्वारेन्टाइनमा बस्नेगरी पठाउछौं ।” लोकपथबाट