बागमती प्रदेशका अन्न र तरकारी बालीमा अमेरिकन फौजी कीराको प्रकोप, किसान चिन्तीत

जनपत्र
७ जेष्ठ २०७७, बुधबार १०:५१

हेटौंडा । मकवानपुरको बकैयाँ गाउँपालिकाको खेतबारीमा लगाइएको हिजो आजको लह–लह परेको मकैमा अमेरीकन फौजी कीरा लाग्न थालेको छ । यहाँका किसानको मुख्य आयश्रोत धान, मकै, गहुँ लगायतका अन्न बाली र तरकारी बाली हो । त्यस मध्यमा पनि खाद्यान्नको मुख्यश्रोत भनेको मकै बाली हो । तर, मकैमा फौजी किराले किसानलाई हैरान पारेको बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल वताउनुहुन्छ ।

फौजी किराको कसरी नियन्त्रण गर्ने भन्नेमा किसान अहिले चिन्तीत छन् । अरु बालीको तुलनामा मकैमा यो किरा धेरै लाग्ने गरेको छ । २०७६ सालमा नेपालमा यो किराको प्रकोप देख्न थालेदेखि यसपालीको मकैमा बकैयामा धेरै किसानका खेत, बारीमा अमेरिकन फौजिकिराले हैरान पारेको अध्यक्ष खनाल वताउनुहुन्छ ।

अमेरीकन फौजी कीरा मकवानपुरको बकैया संगै मकवानपुर गढी, मनहरी, थाहा नगरपालिका, बागमती गाउँपालिकामा प्रकोपका रुपमा देखा परेको किसानहरु वताउँछन् । फौजी कीराका कारण गाउँमा खाद्यान्न संकटनै सृजना हुन सक्ने किसानको अनुमान छ ।

थोरै खेतबारी भएका किसानलाई झनै समस्या हुने उनीहरुको तर्क छ । अमेरीकन फौजी कीरा देखा परेकाले यसको नियन्त्रणका लागि प्रयासरत रहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती वताउनुहुन्छ । यसैगरी मकवानपुर गढी गाउँपालिकामा पनि वडा स्तरबाटनै यसको नियन्त्रणका लागि लागि परेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं वताउनुहुन्छ ।

अमेरिकन फौजी किरा थोरै समयमा धेरै स्थानमा फैलिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक रविन्द्र बहादुर प्रधानले वताउनुभयो । यसको नियन्त्रणका लागि कृषि प्राविधिक सहितलाई राखेर कार्यालयले गोष्ठीहरु पनि गरेको वताउनुभयो । फौजी कीराको नियन्त्रणका लागि किसानलाई विसादी दिने समयमै विषादीको प्रयोग गर्न लगाउने काम पनि गरिएको प्रधानले वताउनुभयो ।

यसका लागि किसानलाई उपकरण पनि दिइएको वताउनुभयो । किसानलाई अमेरीकन फौजी कीराको बारेमा सजिलैसंग जानकारी गराउनका लागि प्रचार प्रसारको काम भइरहेको निर्देशक प्रधानले वताउनुभयो । यसको नियन्त्रणका लागि कृषि विकास निर्देशनालय, जिल्ला स्तरमा रहेका कृषि ज्ञान केन्द्र मार्फत काम भइरहेको वताउनुभयो ।

अमेरीकन फौजी कीरा अन्नबाली र तरकारी दुवैमा लाग्छ

जुनसुकै अन्नबाली र तरकारी बालीमा पनि अमेरिकन फौजी किरा देख्न थालेको बागमती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडाका बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठ वताउनुहुन्छ । बिशेषगरी यो किरा मकै, धान, गहुँ, काउली, कोदो, घाँसेवालीहरु, तरकारीमा काउली, वन्दा, तेलनबालीहरु, काक्रो, बदाम, भटमास, प्याज, गोलभेडा, आलु लगायतका बालीमा अमेरिकन फौजी किरा देखा परेको उहाँले जानकारी दिनुभयो ।

हाल सम्म अमेरीकन फौजी कीरा ३ सय ५३ प्रकारका बालीमा देखा परेको कृषि बिकास निर्देशनालयका कृषि प्राविधिक साहायक डिएन दाहाल वताउनुहुन्छ । सबै बाली मध्यमा सबै भन्दा वढी यो किराले मनपराउने बाली भनेको मकै बाली रहेको दाहालले वताउनुभयो ।

बागमती प्रदेशको काठमाण्डौ उपत्यका र रसुवामा मात्र अमेरीकन फौजी कीरा देखिन बाँकी

मेरीकन फौजी कीराले बागमती प्रदेशको १३ वटा जिल्ला मध्यमा हाल सम्म चार वटा जिल्लामा मात्र यो किरा देखा परेको कृषि प्राविधिकलाई जानकारीमा आएको छैन । काठमाण्डौ, ललितपुर, भक्तपुर र रसुवा जिल्ला बाहेकका अन्य नौ जिल्लामा भने अमेरीकन फौजी कीरा देखा परीसकेको र धेरै स्थानीय तहका किसान यो कीराको हैरानमा परेका छन् । गत वर्ष बागमती प्रदेशको ६ वटा जिल्लामा मात्र देखा परेपनि यो वर्ष भने नौ वटा जिल्लामा देखा परेको निर्देशनालयका बाली संरक्षण अधिकृत सुलोचना श्रेष्ठ वताउनुहुन्छ ।

गत वर्ष चितवन जिल्लाको रत्न नगर, कालिका, खैरेनी राप्ती, भरतपुर लगायतका स्थानीय तहमा अमेरिकन फौजी कीरा देखा परेको थियो । यसैगरी मकवानपुरको बकैयाँ, मनहरी र मकवानपुर गढीमा मात्र यो कीरा देखा पर्यो, काभे्रपलान्चोकको नमबुद्ध, पाँचखाल, महाभारतमा देखा परेको थियो । सिन्धुपाल्चोकको इन्द्रावती, मेलम्ची र चौतारामा देखा परेको थियो । सिन्धुलीको कमलामाइ, सुनकोशी, गोल्जाजोर फिङ्कल र तिनपाटन गाउँपालिकामा यो रोग देखा परेपनि यो वर्ष भने जिल्ला बृद्धी भएसंगै स्थानीय तहमा पनि वढी देखा परेको निर्देशनालयका कृषि प्रसार अधिकृत बिन्दु पौडेल वताउनुहुन्छ ।

अन्नबाली र तरकारी बाली यसरी सखाप वनाउँछ फौजी कीराले

अमेरिकन फौजि किरा यो पुतली वर्गको रात्रीचर किरा हो । यस किराको लार्भाले बालीमा कोतरेर, खाएर नोक्सानी पुत्याउदछ । यस किराले ३५३ विभिन्न प्रजातीका बिरवाहरुमा नोक्सानी पुत्याउन सक्ने तथ्य जानकारी आएको छ ।

मुख्यतया, मकै बाली मन पराउने यस किराले मकै नपाएमा जुनेलो, धान, गहुँ, कोदो, उखु घाँसे बालीहरु, काउली वर्गका तरकारी बालीहरु, तेलहन बालीहरु, काँक्रो लगायतका लहरे तरकारी बाली, बदाम, भसमास, प्याज, कपास, गोलभेडा, आलु बालीहरुमामा समेत क्षति पुत्याउन सक्दछ ।

यो किराले एकै चोटी आक्रामक तवरले छिट्टै ठूलो क्षेत्रमा फैलिएर क्षति गर्न सक्दछ । उपयुक्त आहार तथा आवहवाको खोजिमा यो किराको वयस्क पुतली अण्डा पार्नु अगाडी ५ सय किलो मिटर टाढा सम्म पनि उडेर जान सक्छ । अमेरी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरुको रैथाने मानिने यो किरा सन् २०१५ सम्म अमेरिकामा मात्र सिमित थियो ।

अफ्रिकी महादेश भित्र नाइजेरियामा सन् २०१६ मा पहिलो पटक यो किराको पहिचान भई हालसम्म त्यस महादेशका अन्य थप ३० देशहरुमा यसको प्रभाव छ । सन् २०१८ को मे महिनामा महादेशमा भारतको कर्नाट राज्यमा पहिचान भई हाल सम्म अन्य देशहरु जस्तै बंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाइल्याण्ड, इण्डोसिया, जापान, कोरिया, लाओस, मलेसिया, चिन, ताइवान तथा यमनमा फेला परिसकेकोछ । नेपालमा यस किराको प्रवेश गरेको आधिकारिक पुष्टि राष्ट्रिय बिरुवा संरक्षण संगठन नेपालले मिति २०७६ श्रवण २७ गते गरेको थियो । हाल सम्म नेपालमा यो किरा दैलेख, सल्यान, रोल्पा, बाँके प्युठान,नवलपरासी पुर्व , चितवन आदि जिल्लाहरुमा देखा परेको छ ।

फौजी कीराको क्षतिका लक्षण यस्तो देखिन्छ

मकैको पात, गुभो, धानचमरा, जुँगा, घोगा तथा डाँठ समेतमा यो किराको लार्भाले क्षति पु¥याउँछ । फुलबाट निस्कने बितिकै सानो लार्भाले पातको बाहिरी सतहमा हरियो भाग कोत्रेर खान्छ , जसले गर्दा पातमा झिल्लीदार झ्याल जस्तो आकृतिहरु देखिन्छन् । त्यस पछि यि लार्भाहरु आफैले बनाएको रेशाहरु र हावाको मदतले अन्य बोटहरुमा फैलिन्छ ।

कलिलो अवस्थाको मकैको गुभो भित्र प्वाल पारी भित्र पस्दै खान थाल्छ, बिरुवा बढ्दै जादा पातमा लहरै स—साना प्वालहर देख्न सकिन्छ । किराको आक्रमण भएको ठाँउमा काठको धुलो जस्तो विस्टा पनि प्रशस्त देखिन्छ । बिरुवा हुर्कदौ जादा यसले मकैको धानचमरा, जुँगा र घोगामा समेत पसेर यसले नोक्सान गर्न सक्छ । लार्भाहरु बढ्दै जादा एक लार्भाले अक्रो लार्भालाई खाने परभक्षि स्वभावका समेत हुन्छन् ।

फौजी कीराको व्यवस्थापन

यो खतरनाक किरा भएकाले व्यवस्थापनको निम्ती एउटै उपाय मात्र प्रभावकारी हुन सक्दैन । यो किरा व्यवस्थापनको लागी निम्न बमोजिमका एकिकृत व्यवस्थापनका उपायहरु अवलम्वन गर्नु पर्दछ । खेतबारीमा मकै उम्रे देखि नियनित रुपमा अनुगमन गरी किराको उपस्थिति र संभावित क्षतिको आँकलन गर्नुपर्दछ ।

मकैको घोगामा समेत नोक्सान गर्न सक्ने भएकाले खोस्टाले पुरा घोगा छोपिने जातको मकै लगाउने र एउटा पकेट क्षेत्रमा सकेसम्म एकैसमयमा र अगौटे समयमा मकै रोप्ने गर्नुपर्दछ । मकै एकल बाली लगाउनु भन्दा कोशेबालीको अन्तर बाली वा मिश्रित बालीको रुपमा लगाउदा किराको प्रकोप कम हुन्छ ।

डेस्मोडियम घाँसमा एक किसिमको गन्ध आउछ जुन गन्ध किराले मन पराउदैन त्यसैले मकैको बिच बिचमा लगाउने र छेउछेउमा पासो बालीको रपमा नेपियर घाँस लगाउने । नेपियरमा यो किराले अण्डा पारे पछी लार्भाहरु खानाकोल अभावमा सबै लार्भाहरु बाच्न सक्दैन । . सिफारिस अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने ।

मकै रोप्नु अघि इमिडाक्लोप्रिड ४८ प्रतिसत एफ.एस. विषादी प्रति किलोग्राम बिउमा ४ मि.लि. का दरले बिउ उपचार गरेर रोप्दा शुरुको तिन हप्ता सम्म बिरुवालाइ क्षति हुनबाट बचाउछ । पातको सतहमा देखिएका अण्डाहरु संकल्न गरी नष्ट गर्नुपर्दछ । पातमा सतहमा क्षतिको लक्षण देखिएमा निम जन्य विषादी एजाडिराक्टिन १५ सय पि.पि.एम. ५ मिलि लिटर प्रति लिटर पानीमा मिसाएर स्प्रे गर्ने गर्नुपर्छ ।

पातमा र गुभोमा क्षतिको लक्षण देखिएमा निम्नुसारको रासायनिक विषादीहरु आलोपालो गरी सुरक्षित तरिकाले प्रति रोपनी २५ लिटर पानीका दरले स्प्रे गर्ने गर्नु पर्छ । पाइनेटोराम ११ दशमलव ७ एससि १ मि.लि. प्रति २ लिटर पानीका दरले वा इमामेक्टिन बेन्जोएट ५ प्रतिसत एस.जि. १ ग्राम प्रति २ दशमलव ५ लिटर पानीका दरले वा क्लोरानट्रानिलिप्रोल १८ दशमलव ५ प्रतिशत एस.सि. १ एम. एल. प्रति २ दशमलव ५ लिटर. पानीका दरले वा स्पाइनोस्याड ४५ प्रतिशत एस.सि.१ एम.एल. प्रति ३ लि. पानीका दरले स्प्रे गर्ने गर्नुपर्छ । लार्भा हुर्के पछि तथा मकैको घोगा लाग्न थालेपछी विषादीको प्रगोग प्रभावकारी नहुनेहुदा विषादी प्रयोग गर्नु हुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*