थाहानगर घर भएका कोरोना संक्रमितका परिवारलाई हेटौंडाको आइसोलेसनमा राखियो
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ घरभइ काठमाण्डौ वस्दै आएका कोरोना संक्रमित युवकका परिवारलाई हेटौंडाको आइसोलेसनमा राखिएको छ ।
लकडाउन भएपछी बैशाख २५ गते ट्रकमा सामान लिएर काठमाण्डौ गएका २९ वर्षिय युवकका परिवारका तीन जना सदस्यलाई हेटौंडाको आइसोलेसनमा राखिएको हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण भए नभएको जाँच गर्नका लागि हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा राखिएको हेटौंडा अस्पतालका डाक्टर हरि खड्काले जानकारी दिनुभयो ।
आजै तीनै जनाको पीसीआर जाँच गर्ने तयारी छ । कोरोना संक्रमित भएका युवकका श्रीमती र दुइ छोरीलाई आइसोलेसनमा राखिएको छ । तीनै जनालाई पीसीआरको जाँच हेटौंडाको ल्यावमा गर्न लागिएको छ ।
कोरोना संक्रमित युवक ट्रक लिएर काठमाण्डौ गएपछी उतै कोरोना जाँच गराएका हुन् । उनको घर थाहा नगरपालिका टिष्टुङ देउरालीका रहेको समेत खुलेको हो । लकडाउनको समयमा पनि खाद्यान्न र तरकारी समेत ओसार्दै आएका थिए ।
उनले काठमाडौंमै नमूना संकलन गराएको जनाईएको छ । बैशाख २५ गते टिष्टुङबाट काठमाडौं गएको र काठमाडौंको बाफलमा उनी बस्दै आएको पाइएको छ । लकडाउनको समयमा उनी कहाँ–कहाँ गएका थिए, कसकसको सम्पर्क गए भन्ने कुरा खुलाउन बाँकी रहेको छ । अब कन्ट्रयाक्ट टे«सिङको काम शुरु गरेर उनीसंग सम्पर्कमा रहेकाहरुको खोजी थालिएको छ ।