सूचना आयोगको निर्देशन- कोरोना संक्रमित र मृतकको सबै ठेगाना खुलाउनु

जनपत्र
६ जेष्ठ २०७७, मंगलवार १९:४८

काठमाडौँ — राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट संक्रमित र मृत्यु भएकाहरुको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयले संक्रमित वा मृत्यु भएकाको स्थायी ठेगानामात्रै सार्वजनिक गर्दा अरु विवरण गोप्य रहेको र त्यसले संक्रमणको जोखिम बढाएको भन्दै आयोगले अस्थायी र स्थायी दुवै ठेगाना प्रकाशित गर्न निर्देशन दिएको हो ।

संक्रमित र मृतकका ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै आयोगले उनीहरुको स्थायी ठेगानाका साथै अहिले बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न निर्देशन दिएको हो । ‘उनीहरुको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको ठाउँ फरक हुन सक्छ’, निर्देशनमा भनिएको छ, ‘एउटामात्रै स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योल भएको पाइएको छ । त्यसरी यसरी प्रवाह भइरहेको सूचनामा थप स्पष्ट गराउन आवश्यक छ ।’

केही दिनअघि मकवानपुरको नागरिकता भएको एउटा व्यक्ति संक्रमित भएको सूचना मन्त्रालयले सार्वजनिक गर्‍यो । तर पछि खोजबिन हुँदा उनको नागरिकता मकवानपुरको भए पनि उनी हाल अन्यत्र नै बसोबास गरिरहेको खुल्यो । मन्त्रालयको विज्ञप्तिमा भने मकवानपुर निवासी भन्ने बेहोरा नै उल्लेख थियो । आयोगले यस्तै अन्योल हटाउन निजी गोपनियताका विषयबाहेक ‘कन्ट्याक्ट ट्रेसिङ’लाई सहज हुने स्थायी ठेगाना र बसोबासका सबै विवरण स्पष्ट पार्न निर्देशन दिएको हो ।

आयोगले कतिपय अवस्थामा व्यक्तिगत प्रकृतिका सूचना सञ्चारमाध्यम अनि सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको भन्दै त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ । अनि मन्त्रालयलाई पनि संक्रमित अनि मृतकका व्यक्तिगत विवरण सार्वजनिक नहुने व्यवस्था मिलाउन आदेश दिएको छ ।

त्यसैगरी सूचना आयोगले कोरोना संक्रमण नियन्त्रणसँग सरोकार राख्‍ने विषयमा सूचना प्रवाह गर्न सरकारका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । आयोगले कोरोना रोकथाम, नियन्त्रण अनि राहतका लागि गरेका कामको नियमित रुपमा सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

खरिद गरिने उपकरण, स्वास्थ्य सामग्री, सेवा र औषधीवारे नियमित रुपमा सार्वजनिक गर्ने मिलाउन निर्देशन दिएको छ । अनि आइसोलेसन, क्वारेन्टाइन लगायतको तथ्यांक अनि क्रियाकलापको एकीकृत विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाउन भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*