कोरोनाले मृत्यु भएकी महिलाका ५४ जना छिमेकीको रिपोर्ट नेगेटिभ

जनपत्र
६ जेष्ठ २०७७, मंगलवार १९:३२

सिन्धुपाल्चोक — कोरोना संक्रमणबाट मृत्यु भएकी बाह्रबिसे नगरकी सुत्केरी महिलाका ५४ जना छिमेकीको स्वाबको पीसीआर परीक्षण नेगेटिभ आएको छ । बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको ‘थ्रोट स्वाब’ परीक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

‘दुई जनाको रजिस्ट्रेसन नभएकाले छुटेको रहेछ, बाँकी ५४ जनाको भने पीसीआर नेगेटिभ आएको छ,’ जिल्ला स्वास्थ्य कार्यालय चौताराका तथ्यांक अधिकृत कृष्ण तिवारीले भने ।

वाग्मती सरकारकाा विज्ञ संलग्न र्‍यापिड रेस्पोन्ससहित जिल्ला स्वास्थ्यकर्मीको टिमले बाह्रबिसे नगर–९ स्थित चालिसे गाउँकी २९ वर्षिया मृतक संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र सम्पर्कमा रहेका ५६ जना स्थानीयको नमुना संकलन गरेर सोमबार पठाएको थियो भने बाँकी एकसय ३५ को मंगलबार बिहानसम्म काठमाडौं पुर्‍याइएको छ । यसअघि संक्रमितको परिवार सबैको पीसीआर नेगेटिभ आएपछि केही ढुक्क भएका स्थानीय आधा गाउँलेको परीक्षण नेगेटिभ आएपछि उत्साहित बनेका छन् । सबैको पीसीआर परीक्षणको लागि काठमाडौंदेखि प्रदेश, मन्त्रालयबाट ल्याब विशेषज्ञ र डाक्टरसहित प्राविधिक स्वास्थ्य र सुरक्षाकर्मीको संयुक्त दुई दर्जन टोली खटिएका थिए ।

स्थानीय तहसँग छलफलअघि प्रारम्भिक चरणमा कोभिड–१९ को पिसिआर परीक्षणको लागि नमुना संकलन गर्न दुई सयवटा पीसीआर किट लगिएको र ४६ जनाको मात्रै सूची बनाइएको थियो । संक्रमितका बाँकी परिवार, आफन्त, छिमेकी, संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी सबैको गर्दा संख्या बढ्दै गएर एकसय ९१ पुगेको थियो ।

जिल्ला सुरक्षा समितिले निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वाथ्य केन्द्रलाई सिल गरिएको छ । स्वाब संकलन राम्चेको छिमेकीको ठोट्नेरी गाउँबारीमा र अन्यको प्रास्वाकेमै गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*