कोरोनाले क्‍वारेन्टाइनमै मृत्यु हुनु भनेको सरकारको चरम लापर्बाही हो : विज्ञ

अव्यवस्थित क्वारेन्टाइनले संक्रमणको उच्च जोखिम
जनपत्र
५ जेष्ठ २०७७, सोमबार ०६:५९

काठमाडौँ — आइतबार बिहान बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको मृत्यु भयो । मृत्यु हुनुअघि उनलाई २ घण्टा बान्ता भएको थियो । शनिबार रातिदेखि ज्वरो आउने र झाडापखालाको समस्या देखिएको उनलाई समयमै अस्पताल पुर्‍याइएन । घन्टौंसम्म बान्ता र झाडापखालाले छट्पटिएका उनलाई पीपीई नभएको भन्दै अस्पताल लैजान एम्बुलेन्स चालक आएनन् ।

नरैनापुर, मटैया–५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो । भारतबाट आएका नरैनापुरका ८ जनामा यसअघि संक्रमण पुष्टि भए पनि क्वारेन्टाइनमा रहेका अरुको स्वाब परीक्षणमा तीव्रता दिइएन ।

वैशाख ३० गते नेपाल आएका उनको ५ दिनपछि मृत्यु भयो । जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेका अनुसार कोरोना भाइरसको संक्रमण हुन सक्ने समय सामान्यतया २ देखि १४ दिनको हुन्छ । त्यसपछि लक्षण देखिएर मृत्यु हुनका लागि थप २ देखि ३ हप्ता लाग्दछ ।

मृतक युवक भारतको महाराष्ट्रदेखि हिँडेरै आएका थिए र उनी सीमामा हप्तौ बसेका थिए । संक्रमणको उच्च जोखिमको ठाउँबाट आएका उनलाई तुरुन्त परीक्षण किन गरिएन रु उनी उतैबाट संक्रमित भएर आएका पनि हुनसक्थे ।

जनस्वास्थ्य विज्ञहरुका अनुसार क्वारेन्टाइनमै कोरोनाले मृत्यु हुनु भनेको सरकारको गम्भीर लापर्बाही हो । यस प्रकारको घटनाले क्वारेन्टाइनको व्यवस्थापनमा सरकार गम्भीर नभएको प्रस्ट हुने विज्ञ बताउँछन् ।

जनस्वास्थ्यविद् डा। रवीन्द्र पाण्डे भन्छन्, ‘कुनै पनि देशको क्वारेन्टाइनमा संक्रमितको मृत्यु हुनु हुँदैन । क्वारेन्टाइन यहाँ त यातना गृहजस्तो भएका छन् । सुरक्षित हुनु त कता उल्टै संक्रमणको जोखिम देखिन्छ ।’ इकान्तिपुरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*