हेटौंडाका प्रयोगशाला प्रमुखलाई दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ

हेटौंडा । हेटौंडा १० मा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्कीलाई बाटोमा रोकेर अभद्र व्यवहार गर्दै केरकार गर्ने उत्तम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चन्द्रगिरी घर भएका उत्तम कार्कीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । शुक्रबार हेटौँडाबाट काठमाण्डौं आउँदै गरेका वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई उत्तम कार्कीले गाडीबाट झर्न लगाएर उहाँको झोला र गाडी जाँच गर्दै दुर्व्यवहार गरेका थिए । त्यसको चौतर्फी विरोध भइरहेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले अधिकार नै नभएको काम गरेको र सवारी रोक्ने तथा खानतलासी लिने गरेको अभियोगमा कार्कीलाई पक्राउ गरिएको बताए ।
‘खानतलासीको भिडियो सार्वजनिक भएपछि सोही आधारमा हामीले खोजतलास गरी पक्राउ गरेका हौँ,’ उनले भने, ‘अनुसन्धान गर्दै छौँ । कसुअनुसार मुद्दा चलाउँछौँ ।’
चन्द्रागिरि नगरपालिका क्षेत्रमा कोरोना भाइरस संक्रमित देखिएपछि लकडाउन प्रभावकारी बनाउन शुक्रबार स्थानीयको भीड सडकमा उत्रेको थियो । कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय उत्तेजित भएर सडकमा उत्रेको ज्ञवालीले बताए ।
उनले सो घटनामा प्रहरीको स्पष्ट संलग्नता भने नभएको बताए । प्रहरीले सवारी पास भए–नभएको जाँच्न सवारी रोकेको मात्र उनले दाबी गरे ।
‘त्यसवेलाको सिसिटिभी फुटेज पनि आइसकेको छ,’ उनले भने, ‘गल्ती गर्ने जो भए पनि कारबाही हुन्छ । हामी अनुसन्धान गर्दै छौँ । प्रहरीको संलग्नता देखिए कारबाही हुन्छ ।