मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दी र प्रशासनबीच सहमति, आन्दोलन फिर्ता

जनपत्र
३ जेष्ठ २०७७, शनिबार १७:२३

मकवानपुर — क्षेत्रीय कारागार भीमफेदीमा आन्दोलनरत कैदीबन्दी र कारागार प्रशासनबीच सहमति भएको छ । विभिन्न माग राख्दै मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागारका कैदीबन्दी शुक्रबार साँझबाट आन्दोलित भएका थिए ।
‘प्रशासनको प्रत्यक्ष निगरानीमा फोन गर्न पाउने र उनीहरुको अन्य मागको सम्बोधन गर्ने गरी कैदीबन्दीले आन्दोलन फिर्ता लिइसकेका छन् ।’

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले कारागार प्रशासन, सुरक्षा निकाय र कैदीबन्दीबीचको छलफलपश्चात् सहमति भएको बताए । कैदीबन्दीले सरकारले उपलब्ध गराएको खाद्यान्न लगायत सेवासुविधा नपाएको भन्दै गृहमन्त्रीलाई चिठ्ठी लेखेपछि विवाद भएको थियो । उक्त विवादपश्चात् कारागार प्रशासनले उनीहरुलाई फोन गर्न तत्कालका लागि रोक लगाएको थियो ।

‘यस विषयमा समेत छानबिन गरिने आश्वासन कैदीबन्दीलाई कारागार प्रशासनले दिएपछि सहमति भएको हो’, स्रोतले भन्यो ।कैदीबन्दीहरुले कारागार प्रशासनले आफूहरुलाई दिनुपर्ने सेवासुविधा उपलब्ध नगराएको, परिवारसँग फोनमार्फत कुरा गर्न पनि नदिएको भन्दै आन्दोलनमा उत्रिएका थिए । ब्लक ‘क’मा रहेको कैदीबन्दीहरु शनिबार बिहानभर भित्रबाट तालाबन्दी गरेर बसेका थिए । उक्त ब्लकमा ५ सय ३० जना कैदीबन्दी रहेका छन् ।

कारागार प्रशासनले भने फोनको दुरुपयोग भएको कारण फोन सेवा उपलब्ध नगराएको जनाएको छ । ‘फोनको दुरुपयोग भएको र परिवारभन्दा बाहिर कल गरेको पाइएपछि उनीहरुलाई तत्कालका लागि फोन गर्न नदिइएको हो ।’, प्रमुख जिल्ला अधिकारी नेपालले कारागार प्रशासन र सुरक्षाकर्मी टोलीले कैदीबन्दीसँग सिमकार्ड र मोबाइल रहेको दावी गर्दै तत्काल फिर्ता गर्नसमेत आग्रह गरेको बताए ।

लकडाउनको अवधिबाट कारागारभित्र बारिहको मानिस प्रवेशमा रोक लगाइएको छ । सरकारले लकडाउन घोषणा गर्नूभन्दा तीनदिन अगाडिबाट कारागार प्रशासनले कोरोना संक्रमणबाट बचाउन उच्च सतर्कता अप्‍नाएर बाहिरको मान्छेलाई कैदीबन्दीसँग भेट्न दिइएको छैन । कारागारमा ९ सय ७६ कैदीबन्दी रहेका छन् ।

चैत ८ गतेबाट थपिएका कैदीबन्दीलाई छुट्टै कोठामा राखिएको छ । नयाँ कैदीबन्दीले पुराना कैदीबन्दीबाट टाढा राखिएको र कारागार प्रशासनले दुई कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दै आइरहेको छ । कारागारभित्र कर्मचारी तथा सुरक्षाकर्मी प्रवेश गर्दा शरीरको तापक्रम नाप्ने, हात धुने र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । इकान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*