कोरोना संक्रमितले तातोपानी पनि नपाउने आइसोलेसन वार्ड

जनपत्र
३ जेष्ठ २०७७, शनिबार १४:५३

३ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)  संक्रमितलाई राख्ने आइसोलेसन वार्डबारे पहिले दुईवटा प्रतिनिधिमूलक घटना हेरौं–

घटना एक : वीरगञ्जका सुरेश विडारीमा कोरोना संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएको छैठौं दिन भयो । यसअघि प्रसूति वार्ड रहेको हलमा बनाइएको आइसोलेसन वार्डमा उनीसहित ८ जनालाई राखिएको छ । सबैका लागि दुईवटा संयुक्त शौचालय छन् ।

तीमध्ये एउटामा ढोका नभएकाले बिहान पालो कुर्नुपर्छ । माग गर्दागर्दा बल्ल-बल्ल प्राप्त भएको तातोपानी तताउने भाँडो एउटै छ। अस्पताल भर्नापछि पीपीई लगाएर आएकी नर्सले औषधि छाडेर गएकोबाहेक कोही आएका छैनन्, काउन्सिलिङ समेत गरिएको छैन ।

घटना दुई : जनकपुरका वीरेन्द्र रमण प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएको चौथो दिन भयो । उनीसँगै एउटै हलमा कोरोना संक्रमित ६ जनालाई राखिएको छ । मुटुका बिरामी उनले सुरुमा त पानी समेत खान पाएनन् । धेरैतिर फोन लगाएपछि बल्लबल्ल पानी ताताउने एउटा भाँडो त आयो तर गिलास छैन । कोठामा न इन्टरनेट सुविधा छ, मनोरञ्जनका लागि टेलिभिजन । अस्पताल भर्ना भएपछि एकपटक डाक्टरले फोन गरेर केही औषधि चाहिन्छ ? भनेर सोध्नुबाहेक काउन्सिलिङ समेत भएको छैन ।

पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढेसँगै उनीहरूको उपचारमा समस्या देखिन थालेको छ ।

हुन त मध्य चैतमा धनगढीको सेती अस्पतालमा भर्ना भएका नेपालका चौथो संक्रमित युवकले आफूलाई हेर्न स्वास्थ्यकर्मी नआएको तथा तातोपानी समेत खान नपाएको गुनासो गरेका थिए । अरूले पनि डाक्टरले हेर्न समेत नआएको गुनासो गर्दै आएका थिए । तर, पछिल्लो समय संक्रमितको संख्या बढ्दै जाँदा बिरामीहरूले थप समस्या भोग्नुपर्ने सम्भावना बढेको छ ।

कोभिड-१९ पोजेटिभ देखिएका वीरगञ्जका बिडारी र जनकपुरका रमण स्थानीय सञ्चारकर्मी पनि हुन् । अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, जनस्वास्थ्यका अधिकारी, प्रमुख जिल्ला अधिकारी, सांसद र मन्त्री सबैसँग व्यक्तिगत चिनजान छ । आफूले भोगेको समस्या राख्न सक्छन् । तै पनि तातोपानी खानसमेत मुस्किल छ भने कोरोनाबाट संक्रमित भएर अस्पताल सर्वसाधारणको हालत कस्तो होला भन्ने सहज अनुमान गर्न सकिन्छ ।

कोरोना संक्रमित पत्रकार रमण भन्छन्, ‘यसरी नै आइसोलेसनमा राखिने हो भने कोरोना होइन, अरू रोगले चाहिँ थला पार्ला जस्तो छ ।’ त्यसमा सहमत वीरगञ्जमा पत्रकार बिडारी भन्छन्, ‘संक्रमितहरू त्यसै झ्याल फोडेर भाग्ने अवस्था आएको होइन रहेछ ।’ उनी उपचाररत नारायणी अस्पतालमै रहेका दुई कोरोना संक्रमित अस्पतालको झ्याल फोडेर भागेका थिए ।

कमजोर पूर्वतयारीको परिणाम

कोभिड-१९ पहिलो पटक डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको थियो । त्यहाँबाट फैलिएको संक्रमण इटाली, युरोपहुँदै अमेरिकासम्म पुग्यो र महामारीको रुप लियो ।

तर, नेपालमा माघ ९ मा पहिलो केस भेटिए पनि त्यसपछि १० चैतसम्म थप केस देखिएन । त्यसैले जनस्वास्थ्य विज्ञहरुले यसलाई पूर्वतयारीका लागि नेपालले पाएको अवसर माने । अस्पतालसम्बन्धी पूर्वतयारी गर्नुपर्नेमा जोड दिए ।

तर, सरकारले नेपालमा कोरोना नै आउँदैन भनेझैं गरेर पूर्वतयारीमा खासै ध्यान दिएन । १० चैतमा दोस्रो संक्रमित भेटिए । त्यसपछि सरकारले सिंगो मुलुकलाई लकडाउन गर्‍यो । यसले संक्रमण फैलिन पाएन र यो समय पनि पूर्व तयारीका लागि थियो । तर, यो अवधिमा पनि पर्याप्त मात्रामा तयार भएन । स्थानीय र प्रदेश सरकार मात्र होइन, संघीय सरकार पनि खाली ठाउँ खोजेर बेड राख्ने र यति बेडको आइसोलेसन तयार भयो भन्ने होडबाजीमा व्यस्त भयो।

तर, जब संक्रमितको संख्या दुई अंकबाट उकालो लाग्यो, त्यही नाम मात्रको आइसोलेसन बेड समेत अपर्याप्त हुने अवस्था आयो।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुमा समेत जम्मा पाँच वटा आइसोलेसन बेड छन्। अस्पतालका निर्देशक सागर राजभण्डारीका अनुसार सबै बेड छुट्टाछुट्टै छ । ट्वाइलेट बाथरुम पनि छुट्टाछुट्टै छ । प्रत्येक कोठामा पस्ने ढोका छुट्टै छ । हरेक कोठामा टेलिफोन राखिएको छ र सीसीटीभी फुटेजबाट हेर्दै चिकित्सकहरूले कोरोना संक्रमितसँग कुुरा गर्ने व्यवस्था छ । हाइस्पिडको वाइफाई छ । तीन सिफ्टमा डाक्टर तथा नर्सहरू गएर बिरामीलाई काउन्सिलिङ गर्छन् । तर, यो सबै जम्मा ५ बेडका तयारी हो ।

योभन्दा बढी संक्रमित राख्ने ठाउँ छैन । थप ३० वटा आइसोलेसन बेड बनाउने काम बल्ल भइरहेको छ । थपिएका वेड फरक फरक कोठामा हुने छैन, खुला ठाउँमा एक मिटर दुरीमा बेड राखिनेछ । ट्वाइलेट तथा बाथरुममा डिसइन्फेक्सन स्प्रे राख्ने र संक्रमितले प्रयोग गरेपछि आफैँ सफा गर्नुपर्ने व्यवस्था गरिने अस्पतालका कार्यकारी निर्देशन भण्डारीले जानकारी दिएका छन् ।

केन्द्रीय सरुवा रोग अस्पतालको यो अवस्था छ भने अरूको कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

नारायणी अस्पताल बिरामीले भरिएपछि विद्यालय भवनमा बेड राखेर सेमिआइसोलेन वार्ड बनाइएको छ भने नेपालगञ्जकाे खुजारा अस्पतालमा ठाउँ नभएपछि संक्रमितलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल लैजानुपर्ने अवस्था आएको छ ।

अहिलेसम्म भेटिएका संक्रमितमा खासै लक्षण देखिएको छैन र गम्भीर समस्या पनि आएको छैन र त यस्तो भद्रगोल भइसक्यो भने गम्भीर समस्या भएका बिरामीहरू देखिन थाले भने हाम्रो अस्पतालमा आधारित तयारीमा गरिएको कमजोरी निकै महँगो पर्न सक्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

के भन्छन् जनस्वास्थ्य विशेषज्ञ ?

पत्रकारद्वय बिडारी र रमणको आइसोलेसन वार्डको अनुभव हामीले संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीलाई पनि सुनायौं र सोध्यौं–यस्तै हुने हो आइसोलेसन वार्ड ?

उनका अनुसार कोरोना संक्रमितलाई सकेसम्म छुट्टै कोठामा राख्ने, अलग शौचालय प्रयोग गर्नु उपयुक्त हुन्छ । संक्रमितको संख्या बढ्दै जाँदा यो सम्भव नहुन सक्छ । त्यस्तो अवस्थामा पनि हरेकको बेडको दुरी कम्तीमा ६ फिट हुनुपर्छ । सकेसम्म एक अर्का बेडको बीचमा पर्दा राख्नु उपयुक्त हुन्छ । एउटै कोठामा बसेका संक्रमितहरूलाई एकअर्कामा घुलमिल हुन दिनुभएन ।

संक्रमितहरूको ज्वरो, रक्तचाप नाप्ने मेसिनलगायतका उपकरण सकेसम्म छुट्टै प्रयोग गर्नुपर्छ । यदि यो सम्भव हुन्न भने एउटालाई प्रयोग गरेपछि डिसइन्फेक्टस गर्नुपर्छ ।

त्यस्तै, उनीहरुको मानसिक स्वास्थ्य सबैभन्दा महत्वपूर्ण हुन्छ । संक्रमित भएर अस्पताल ल्याएपछि हरेकलाई यो रोग के हो ? संक्रमित भएपछि के‍‍‍-के हुन सक्छ ? कसरी सतर्कता अपनाउनुपर्छ ? यस्ता विषयमा चिकित्सकीय परामर्श अनिवार्य हुन्छ । साथै उपचारका क्रममा पनि ६ फिट वा सोभन्दा बढी दुरी कायम गरेर पनि उनीहरूलाई काउन्सिलिङ गर्नुपर्ने हुन्छ । यसले संक्रमितको आत्मबल बढाउन मद्दत गर्छ भने केही समस्या रहेछ पनि थाहा हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*