महोत्तरीकाे दशगजा क्षेत्रमा घेरबार लगाइँदै

जनपत्र
२ जेष्ठ २०७७, शुक्रबार १३:४२

महाेत्तरी – लुकीछिपी सीमा नाघेर आउने जाने क्रम नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेरबार लगाउन थालिएको छ ।

जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेरबार लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो ।

सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरेर आवागमन रोक्न प्रयत्न हुँदै आए पनि दुवैतर्फ एकअर्कासँग जोडिएका बस्तीबीचबाट छिर्ने क्रम नरोकिएपछि बाँसका फट्टा र अन्य काठ ठड्याइएर घेरबार लगाइन थालिएको छ । जिल्लाका मटिहानी, जलेश्वर र मनराशिशवा नगरपालिका एवं एकडारा, सम्सी र सोनमासहित ६ पालिकाको सीमा भारतसँग जोडिएको छ ।

भारततर्फ सीमा क्षेत्रसँग मधुवनी र सीतामढी जिल्ला जोडिएका छन् । ‘मधुवनी र सीतामढीमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको समाचार छन्, भारतले रेलसेवा सञ्चालन गरेसँगै यता लुकिछिपी भित्रिनेको सङ्ख्या बढ्दै गएको जानकारी पाइएपछि घेरबार शुरु गरिएको हो’, महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भन्नुभयो, ‘यो अस्थायी घेरबारले पनि आवागमन नियन्त्रण गर्न सघाउने विश्वास छ ।’

सीमा क्षेत्रमा घेरबार थालिएसँगै सुरक्षा गस्ती पनि बढाइएको जिल्ला प्रशासनले जनाएको छ । पछिल्लोपटक महोत्तरी र धनुषामा पाइएका सङ्क्रमितमध्ये केही भारतको मधुवनी र सीतामढीबाटै यता छिरेका पाइएको छ ।

जिल्लाको भारतसँगको सीमा क्षेत्रमा कतिपय ठाउँमा जोडिएका बस्ती, दोहोरो सामाजिक-सांस्कृतिक सम्बन्ध र कतिपय सीमा क्षेत्रका दुवैतर्फ रहेका सघन बगैँचाबाट लुकीछिपी आउने जानेलाई सजिलो बनेको देखिँदैछ ।

सीमाबाट भित्रिनेबारे हाम्रातिरका बस्तीमा सचेतना अपनाइएर क्वरेन्टीन केन्द्रमा पुर्‍याउन सजिलो हुने भए पनि यसबारे त्यति चनाखोपन र सजगता नअपनाइँदा समस्या कायम नै रहेको राजनीतिक दल र सामाजिक क्षेत्रका कार्यकर्ताकाेभ भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*