रामनारायण बिडारी भन्छन्- म डराएँ, अब बैठक राख्दिनँ

संसदको विषयगत समितिका बैठक दिनहुँजसो बसिरहेका छन् । बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी विभिन्न ६ वटा विषयगत समितिका बैठक बस्दैछन् ।
संघीय संसद सचिवालयले संसद बैठकमा सहभागी हुनेहरुका लागि आचारसंहिता बनाएर लागू गरेको छ । साबुन पानीले हात धुनुपर्ने, ज्वरो परीक्षण गरेर मात्रै प्रवेश गर्नुपर्ने, सामाजिक दुरी कायम गरेर राखिएका कुर्सीमा बस्नुपर्ने लगायतका नियमको पालना संसद भवन नयाँवानेश्वर लागु गरेको पाइन्छ ।
तर, मिनी संसद भनिने संसदीय समितिहरुको हकमा भने आचारसंहिताको पालना फितलो छ । सिंहदरबार प्रवेशद्वारमा हात धुने ठाउँ छ । तर, कमैले मात्र हात धुन्छन् । गेटमा ज्वरो जाँच गरिन्छ, तर हातलाई स्यानिटाइज गर्न अनिवार्य छैन । टेबलमा राखिएको स्यानिटाइजर कसैले प्रयोग गर्छन्, कसैले गर्दैनन् । स्वास्थ्यकर्मीहरुले पनि हातलाई स्यानिटाइज गर भनेर भन्दैनन् ।
मचाहिँ डराएँ, अब बैठक राख्दिनँ : रामनारायण बिडारी, सभापति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
विज्ञहरुलाई बोलाएर सीमाबारे बैठक राख्न खोजेको थिएँ । स्वास्थ्य सम्बन्धी सावधानी नअपनाइएको देखेर मचाहिँ डराएँ । अब बैठक राख्न सक्दिन जस्तो लागेको छ । तत्काल राख्दिन पनि । समितिका बैठक नराख्दा राम्रो । बैठक नराख्दैमा देश डुब्ने, जहाज डुब्ने, केही हुँदैन । सामान्य समय भए केही काम गरौं भन्ने हुन्थ्यो । अहिले त जोखिम धेरै छ ।
बिडारी नेतृत्वको समितिले मंगलबार मात्रै परराष्ट्र मन्त्रालयलाई सीमा विवाद समाधानका लागि विगत ४ महिनामा के कस्ता पहल भएका छन् त्यसको विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो ।
बैठक कक्षमा सावधानी
पछिल्लो समय नियमितजसो बसिरहेको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक कक्षको ढोकामा स्यानिटाइजर राखिएको छ । बैठक कक्षमा सामाजिक दुरी कायम हुने गरी कुर्सीहरुको व्यवस्थापन गरिएको छ ।
तर, सबैले ट्वाइलेट एउटै प्रयोग गर्छन् । बैठक कक्ष बाहिर सांसदहरु, मर्यादापालक, गुप्तचर निकायका कर्मचारीहरुबीच सामाजिक दुरीविना कुराकानी भइरहेको हुन्छ ।
अन्य समितिहरुको दृष्य पनि यस्तै छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक नियमितजसो छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बसिरहेको छ । बिहीबारका लागि पनि बोलाइएको छ ।
अर्थ समितिको बैठक पनि दैनिकजसो छ । अर्थ समितिमा बिहीबार आगामी आर्थिक वर्षको बजेटबारे अर्थशास्त्रीहरुसँग छलफल छ ।
धेरैजसो समितिले बैठक कक्ष छिर्ने ढोकामा स्यानिटाइजर राखेका छन् । केहीले स्यानिटाइजर समेत राखेका छैनन् । राखिएको ठाउँमा पनि कसैले प्रयोग गर्छन्, कसैले गर्दैनन् ।
बैठकमा छिर्नुअघि र बाहिरिनुअघि साबुनपानीले हात धुनुपर्ने संसद सचिवालयको नियम भने मिनी संसदमा पालना भएको छैन । साबुन पानीले हात धुने व्यवस्था कुनै पनि समितिमा नभएका कारण यो नियम पालना नभएको हो ।
संसद सचिवालयले मिनी संसदमा सतर्कतामा कमी आएको स्वीकार गरेको छ । प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘मिनी संसदमा सतर्कतामा केही कमी भएको छ । हामी यसबारे छलफल गरिरहेका छौं ।’
विधेयक अघि बढाउँदै समितिहरु
प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा बुधबार खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयकमाथि दफावार छलफल थियो । बुधबार नै सक्ने भनिएको उक्त विधेयकमाथिको छलफल खानेपानी मन्त्री बिना मगर अनुपस्थित नहुँदा बिहीबार पनि बैठक बस्दैछ ।
समिति सभापति कल्याणी खड्काका अनुसार मन्त्रीको उपस्थितिविना समितिले विधेयक पास गर्नु उचित हुँदैन ।
‘विधेयक टुङ्ग्याउँदा मन्त्रीको उपस्थिति चाहिन्छ । थाती रहेका र दफा ५५ देखि ६० सम्म अर्को बैठकमा छलफल गरौंला,’ समिति सभापति खड्काले बुधबारको समिति बैठक सकाउँदै भनिन् । उक्त विधेयकमा ६० वटा दफा छन् । अनलाइनखवरबाट साभार ।