अस्पतालमा आइसोलेसन बेड नपुगेपछि पर्साका १७ संक्रमितलाई क्वारेन्टाइनमै राखिने
मंगलबार राति थपिएका पर्साका १८ जना संक्रमितमध्ये १७ जनालाई अहिलेसम्म अस्पताल भर्ना गरिएको छैन। वीरगन्जमा रहेको नारायणी अस्पतालमा रहेको आइसोलेसन बेड भरिएपछि नयाँ संक्रमितलाई राख्न नसकिएको हो।
तीमध्ये एकजनालाई भने नारायणी अस्पतालमा भर्ना गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए। ‘एउटा बेड खाली थियो त्यसैले एकजना संक्रमितलाई लिएर राखेका छौं,’ उनले भने।
बाँकी १७ जना संक्रमितलाई भने सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमै राखिने भएको छ। उनीहरू अहिले आ आफ्नै घरमा रहेका छन्। बेलुकासम्म संक्रमितलाई क्वारेन्टाइनमा राखिने डा. उपाध्यायले जानकारी दिए।
१७ जना संक्रमित नै प्रहरीको निगरानीमा रहेको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा पन्तले बताइन्। ‘उहाँहरू सबै प्रहरीको निगरानीमा हुनुहुन्छ। उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने कुरा अस्पतालले टुंगो लगाउँछ।’
नारायणी अस्पतालमा ७० वटा आइसोलेसन बेड छन्। जसमा ६९ जना कोरोना संक्रमित उपचारत छन्। ‘तीमध्ये दुई जना संक्रमित आज अस्पतालबाट भागेका छन्, उनीहरू अस्पतालको सम्पर्कमा आउन सकेका छैनन्।’
मंगलबार बिहानसम्म अस्पतालमा जम्मा ५० आइसोलेसन बेड थिए। तर एकैचोटि ३९ जना संक्रमित थपिएपछि हतार हतार २० वटा बेड थपिएको थियो। बेड तयार गर्न समय लागेपछि संक्रमितलाई राति मात्रै भर्ना गरियो।
‘मंगलबार राति नै थप १८ जना संक्रमित थपिएपछि उनीहरूलाई अस्पताल भर्ना गर्न सकिएन।’ डा. उपाध्याय भन्छन्, ‘अब अस्पतालमा आइसोलेसन बेड बढाउने ठाउँ छैन। अन्य अस्पतालहरूमा व्यवस्थापन गर्नुपर्छ।’
१९ घण्टा बितिसक्दा पनि बाँकी १७ संक्रमित क्वारेन्टाइनमा भर्ना भएका छैनन्। उनीहरूलाई आजसम्म क्वारेन्टाइनमा राखिसक्ने हिसाबले तयारी अघि बढेको अस्पतालले जनाएको छ।यसरी कोरोना संक्रमितलाई पहिलोपटक क्वारेन्टाइनमा राख्न लागिएको छ। यसअघि रहेका सबै संक्रमितहरूलाई विभिन्न कोरोना विशेष अस्पतालमै भर्ना गरिएको छ।