मंगलबारदेखि भारतमा यात्रुवाहक रेलसेवा सुरु हुने, राज्य सरकारहरु असन्तुष्ट

नयाँदिल्ली — भारत सरकारले करिब दुई महिनादेखि बन्द रहेको यात्रुवाहक रेल सेवा मंगलबारदेखि सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारको उक्त निर्णयप्रति राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । रेल सेवा सञ्चालन सुरु गरे कोरोना भाइरसको महामारी फैलिने भन्दै राज्य सरकारहरुले असन्तुष्टि जनाएका हुन् ।
भारतमा सार्वजनिक यातायातका लागि सबैभन्दा भरपर्दो माध्यमका रुपमा रहेको रेल सेवा गत २४ मार्चदेखि बन्द गरिएको थियो । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देशव्यापी लकडाउन गरिएको पछि रेललगायत सार्वजनिक यातायात पनि पूर्ण रुपमा बन्द हुन पुगेको हो । तर, लकडाउन खुकुलो बन्ने क्रमसँगै रेल सेवा सञ्चालन गर्न लागिएको हो । यात्रुवाहक रेल सेवाका लागि सोमबार अपरान्ह चार बजेदेखि बुकिङ खुला गरिएको छ । तत्कालका लागि भने विभिन्न पन्ध्र गन्तव्यका लागि मात्र रेल सेवा सञ्चालन हुने छन् ।
मंगलबार दिल्लीबाट राँची, भुवनेश्वर, सिकन्दारावाद, बेग्लुरु, चेन्नई, तिरुबन्तपुरम, मगगाउँ, मुम्बई सेन्ट्रल, अहमदाबाद, दिब्रुगढ, अगरताला, हावडा, पटना, बिलासपुर र जम्मूसम्म रेल सञ्चालन हुने भएको छ । भारतको रेल्वे विश्वकै ठूलो सार्वजनिक यातायात सेवामध्येमा पर्छ । जसअन्तर्गत दैनिक ११ हजार रेल सञ्चालन हुने गर्छन् । यीमध्ये सात हजारभन्दा बढी यात्रुवाहक रेल छन् । जसबाट दैनिक १ करोड ३० लाखभन्दा बढीले यात्रा गर्ने गर्छन् ।
भारतको गृहमन्त्रालयले सोमबार नै यात्रुवाहक रेल सेवा सञ्चालनका लागि विशेष निर्देशिका ‘स्ट्यार्ण्डड अपरेटिङ प्रोसेड्योर’ (एसओपी) पनि जारी गरेको छ । जसअनुसार टिकट पक्का भएका र कोरोना भाइरसको लक्षण नभएका यात्रुहरुले मात्र यात्रा गर्न पाउनेछन् । त्यसैगरी यात्राका क्रममा यात्रुहरुले सामाजिक दूरी पनि कायम गर्नुपर्नेछ र मास्क अनिवार्य रुपमा लगाउनुपर्ने छ । यात्रुहरुले खाना र ओढ्ने आफैले बोक्नुपर्ने छ । यात्राका क्रममा कसैले किनेर खान चाहेको खण्डमा रेलमै हल्का खाजाको व्यवस्था भने रहनेछ । त्यसैगरी यात्रुहरुले रेल छुट्ने समयभन्दा डेढ घण्टाअघि नै स्टेसनमा पुगिसक्नुपर्ने छ ।
यसका साथै मे १ देखि सञ्चालनमा आएको ‘श्रमिक स्पेसल ट्र्रेन’ लाई पनि पूर्ण क्षमतामा चलाइने भएको छ । विभिन्न राज्यमा अलपत्र परेका आप्रवासी कामदारी, तीर्थयात्री, विद्यार्थी र पर्यटकहरुलाई लक्षित गर्दै विशेष रेल ‘श्रमिक ट्रेन’ सञ्चालन गरेको गरिएको थियो । भारत राज्य सरकारहरुले अलपत्र परेका आप्रवासी कामदारहरुलाई घर लैजान रेल सेवा सुचारु गर्नुपर्ने माग गर्दै आएका थिए । श्रमिक ट्रेनका लागि बेग्लै निर्देशिका जारी गरिएको थियो । जसमा जुन राज्यबाट ट्रेन छुट्छ उक्त राज्यले यात्रुहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने र यदि कसैमा कोरोना भाइरसको लक्षण देखिएको यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी यात्रुहरुलाई स्टेसनमा ल्याउने र त्यसका लागि आवश्यक सामाजिक दूरी कायम गराउने जिम्मेवारी पनि सम्बन्धित राज्यकै तोकिएको छ । साथै गन्तव्यमा पुगेपछि पनि रेलका सबै यात्रुहरुको स्वास्थ्य परीक्षणको अनिवार्य गरिएको थियो । भारतीय रेल्वेका अनुसार हालसम्म श्रमिक ट्रेनबाट करिब पाँच लाखभन्दा बढी प्रवासी श्रमिकले यात्रा गरिसकेका छन् ।
राज्य सरकारहरु असन्तुष्ट
केन्द्र सरकारको रेल सेवा सुचारु गर्ने निर्णयको राज्य सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । तेस्रो चरणको लकडाउन सकिनु केही दिन बाँकी रहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसँग चलेको करिब छ घन्टा लामो भिडियो कन्फरेन्समा विभिन्न राज्यका मुख्यमन्त्रीहरुत्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन् ।
दिल्ली, मुम्बई, बैंग्लोर, चेन्नई, हैदराबादलगायतका सहरमा कोरोना भाइरसको संक्रमण उच्चदरमा बढिरहेको हुँदा रेल सेवा सुचारु गर्दा जोखिम थप बढ्ने भन्दै असन्तुष्टि जनाएका हुन् । भारतमा तेस्रो चरणको लकडाउन १७ मेमा सकिँदै छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि ४८ दिनदेखि लकडाउन गरिए पनि पछिल्ला दिनमा संक्रमितको संख्यामा उच्च वृद्धि देखिएको छ । भारतमा सोमबार साँझसम्म कोरोना भाइरसको संक्रमित संख्या ६७ हजार नाघेको छ । र, संक्रमणबाट दुई हजार दुई सयभन्दा बढीको ज्यान गइसकेको छ ।
भारतमा रेल सेवा सुचारु भए पनि नेपाल–भारत सीमा बन्द गरिएका कारण अलपत्र परेका नेपालीहरुका लागि भने खासै उपयोगी हुने छैन । त्यसमाथि नेपालसँग सीमावर्ती क्षेत्रसम्म रेल सेवा कहिले देखि सुरु हुन्छ भन्ने प्रस्ट हुन्छ । साथै विभिन्न राज्यहरुबीच चल्ने लामो दूरीका बस सेवा सुचारु सम्बन्धमा पनि ठोस निर्णय भइसकेको छैन ।