मकवानपुरको कैलाश गाउँपालिकाः काम गर्नेलाई चामल, नून, तेल, जिरा, बेसार र साबुन !

जनपत्र
२७ बैशाख २०७७, शनिबार २०:१७

कैलाश–बन्दाबन्दीको लामो अबधि बितिसक्दा समेत राहत नबाँडेको भनेर आरोप खेपिरहेको मकवानपुरको कैलाश गाउँपालिकाले श्रममा जोडेर मात्रै खाद्यान्न बाँड्ने तयारी गरेको छ ।

खानेकुरा नपाएर समस्याग्रस्त बनेका बिपन्न परिवारका सदस्यलाई काममा लगाएर ज्यालाबापत चामल दिने गाउँपालिकाको तयारी छ । चामल प्राप्त गर्ने परिवारले सोही अनुपातमा दाल, नून, तेल, बेसार, जिरा, धनियाँ र साबुन पनि प्राप्त गर्ने गरी कार्यविधि निर्माण गरिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले जानकारी दिनुभयो । वडामा बाटो मर्मत गर्ने, तारजाली भर्ने, नहर सफा गर्ने, पर्खाल लगाउने जस्ता काममा मानिसहरु लाग्नुपर्ने कार्यविधिमा ब्यवस्था छ ।

‘अति विपन्न परिवारका सदस्यलाई काममा लगाउने र जिल्ला दररेट अनुसार ज्यालाको व्यवस्था गरी ज्याला स्वरुप चामल दिने तयारी गरेका छौँ’, अध्यक्ष मुक्तानले भन्नुभयो–‘ज्यालाबापतको रकमको चामल पाइने भएपछि अतिरिक्त रुपमा दाल, नून, तेल, बेसार, जिरा, धनिया र साबुन दिने तयारी छ ।’

कार्य विधि अनुसार आवश्यकताका आधारमा २५ जना श्रमिकहरुको टोली हुनेछ । तीमध्येबाट एकजना सुपरभाइजर र अन्य २४ जना कामदारहरु रहनेछन् । स्वास्थ्य सुरक्षा पूर्ण रुपमा अपनाएर काम गर्नेहरुले बिहान १० बजेबाट साँझ ५ बजेसम्म समय दिनुपर्नेछ । स्थानीय जनप्रतिनिधि र सुपरभाइजरले कामको अनुगमन र सुपरिबेक्षण गर्नेगरी कार्यविधि बनाइएको अध्यक्ष मुक्तानले बताउनुभयो ।

‘कामका लागि खाद्यान्न’ नाम दिएर सञ्चालन गर्न लागिएको यो कार्यक्रमका लागि पहिलो चरणमा गाउँपालिकाले ३० टन चामल, ३० क्विन्टल दाल, ३० क्वीन्टल नून, २ हजार लिटर तेल, २ क्विन्टल बेसार, २ क्विन्टल धनियाँ, २ क्विन्टल जिरा र १८ हजार थान साबुन खरिद गरी भण्डारन गरेको छ । २२ लाख ५५ हजार एक सय रुपियाँको सामग्री खरिद गरिएको गाउँपालिकाले जनाएको छ । कामका लागि खाद्यान्न कार्यक्रम जेठ महिना सुरु हुने बित्तिकै सुरु गरिने अध्यक्ष मुक्तानले जानकारी दिनुभयो ।

कामका लागि खाद्यान्न कार्यक्रम कार्यान्वनको प्रभावकारिता हेरेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई पनि सोही मोडालिटीमा कार्यान्वयन गर्ने तयारी गाउँपालिकाले गरिरहेको बताइएको छ । ‘श्रम गर्नेले खान पाउँछन् भन्ने सन्देश दिनु अत्याबश्यक छ’, अध्यक्ष मुक्तान भन्नुहुन्छ–‘जनतालाई निर्माण र उत्पादनसँग जोड्नु जरुरी छ ।’ मनहरी लाइभबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*