भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

भारतीय अतिक्रमणविरुद्ध सडकमा उत्रिएका ३६ जना पक्राउ
जनपत्र
२७ बैशाख २०७७, शनिबार १५:०७

काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा विरोध भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडक बनाएकोमा आपत्ति जनाएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली ९महाकाली० नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले बताएको छ ।

भारतीय कदम सीमा विवाद सम्वादबाट हल गर्ने दुई देशका प्रधानमन्त्रीको सहमतिको पवि विपरित भएको भन्दै परराष्ट्र मन्त्रालयले भनेको छ, नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न नेपाल सरकार भारत सरकारलाई आग्रह गर्दछ ।’

हामीलाई दुःखित तुल्यायो स् परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकोे कदमले नेपाललाई दुःखित तुल्याएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अहिले जुन कदम चालियो, त्यसले हामीलाई दुःखी तुल्याएको छ । यसबारे सरकारको आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।

महाकालीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा पारेलगत्तै नेपाललाई आपत्ति जनाएर कूटनीतिक माध्यमबाट समस्याको समाधानको पहल गरिरहेको मन्त्री ज्ञवालीले स्मरण गरे ।

नेपालकोे भूभागलाई भारतीय नक्सामा पारिएकोमा नेपालले आपत्ति जनाइरहेकै बेला लिपुलेकमा यसरी सडक उदघाटन हुँदा यसले दुःखित तुल्याएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । ‘पहिलेदेखि नै नेपालले भन्दै आएका र नेपालको भूमि भनेर प्रमाणित हुने महाकाली पूर्वका भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर भारतले नक्शा प्रकाशित गरिसकेपछि हामीले त्यति नै बेला गम्भीर आपत्ति जनाएका हौं’ मन्त्री ज्ञवालीले भने, ‘कूटनीतिक माध्यमबाट समाधान खोज्नका लागि हामीले पटक(पटक पहल गर्दै आएका हौं ।’

भारतले दार्चुलाको लिपुलेक हुँदै मानसरोवर जोड्ने बाटो बनाएको विरोधमा प्रदर्शनमा उत्रिएका सत्तारुढ नेकपानिकट विद्यार्थीसहित ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले उनीहरुलाई केही बेरअघि माइतीघरबाट नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले ३५ पुरुष र एक महिलालाई नियन्त्रणमा लिएको बताए । एसएसपी ज्ञवालीले माइतीघर(बबरमहल क्षेत्रबाट १२, लैनचोर क्षेत्रबाट १६, डिल्लीबजारबाट ३ र कालीमाटीबाट ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । त्यसमध्ये मोहन वैद्य नेतृत्वको पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी ५ जना र बाँकी सत्तारुढ नेकपानिकटका विद्यार्थी नेता तथा कार्यकर्ता रहेका छन् । नियन्त्रणमा लिएका उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ । भारतीय दूतावास अगाडि समेत प्रदर्शन हुने आशंकामा प्रहरीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*