नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित १ सय ९ पुगे
नेपालमा थप ७ जनामा कोरोनासङ्क्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरमा गरीएको परीक्षणमा उदयपुरको भुल्केका तीन, कपिलवस्तुको कपिलवस्तुको मायादेवी नगरपालिकाका तीन र पर्साका एक जना गरी सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना युवक तथा पर्साको छपकैयाका ६२ वर्षका पुरुष गरी थप ७ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ९ पुगेको छ । उनीहरु सबैको अवस्था अहिले सामान्य भएको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि मन्त्रालयले जनाएको छ ।