प्रदेश २ : कोरोना रोकथामका लागि २ अर्ब

जनपत्र
२६ बैशाख २०७७, शुक्रबार ०९:५५

धनुषा – प्रदेश नम्बर २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि दुई अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले दुई अर्ब रुपैयाँ निकासा गरेको हो ।

चालु आर्थिक वर्ष २०७६ ७७ मा प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसबाट कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि दुई अर्ब रुपैयाँ निकासा भएको र त्यो रकम खर्च भइरहेको आर्थिक मामिलामा तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सचिव श्रेष्ठका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्न सामाजिक विकास मन्त्रालय अन्तर्गत ८६ करोड रुपैयाँ र आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १० करोड ४५ लाख रुपैयाँ पठाइएको छ । यस्तै लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई ३३ करोड ७० लाख रुपैयाँ र भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई ३६ करोड रुपैयाँ निकासा गरिएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई एक करोड रुपैयाँ तथा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको चार वटा डिभिजनलाई २५ २५ लाख रुपैयाँका दरले पैसा पठाइएको सचिव श्रेष्ठले बताउनुभयो । यसबाहेक प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा २५ करोड रुपैयाँ जम्मा भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

कोभिड कोषबाट धनुषाको नगराइन नगरपालिकाको गङ्गुलीमा रहेको क्वरेण्टीन मर्मतसम्भारका लागि नेपाली सेनालाई ५० लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ । यसैगरी राजविराजको गजेन्द्रनारायण सिंह अस्पताललाई औषधि, उपकरण र क्षमता अभिवृद्धिका लागि कोषबाट १० लाख रुपैयाँ दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्रेष्ठले बताउनुभयो ।

कोरोना रोकथाम, नियन्त्रण, उपचार काममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक, पत्रकारलगायत व्यक्तिहरुको ज्यान गएमा ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ । सचिव श्रेष्ठले आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम निकास गरे पनि अहिलेसम्म खर्च भएको विवरण आइनसकेको बताउनुभयो । ‘कोरोना महामारीका लागि रकम निकासा गरिएको हो, काम भइरहेको छ । चालु आर्थिक वर्षको बजेटबाट रकम निकासा भएकाले जेठ मसान्तसम्म खर्च भएको रकमबाहेक सबै सरकारी कोषमा फिर्ता आउँछ’, श्रेष्ठले भन्नुभयो ।

कोरोना सङ्क्रमणको जोखिमका हिसाबले प्रदेश नम्बर २ लाई सबैभन्दा बढी संवेदनशील मानिएको छ । भारतसँगको खुला सीमा र वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्या प्रदेश नम्बर २ बाटै बढी भएकाले यस प्रदेशलाई उच्च जोखिमका रूपमा हेरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*