सेनाले खरिद गरेको स्वास्थ्य सामग्री अर्को साता आइपुग्ने
काठमाडौँ — नेपाली सेनाले चीनबाट ल्याउन लागेका स्वास्थ्य सामग्रीहरु आउने सातामात्रै आइपुग्ने भएको छ । ढुवानी प्रक्रियामा समस्या भएपछि तोकिएको मितिभन्दा एक साता ढिलो सामग्री आइपुग्ने सेनाले बताएको छ ।
सेनाको वैशाख २३ मा पहिलो लटको स्वास्थ्य सामग्री चीनबाट काठमाडौं उतार्ने बताएको थियो । तर, चीनमा लगातार ५ दिनको बिदा, नेपालसहित विश्वका अन्य मुलुकहरुले पनि एकैपटक स्वास्थ्य सामग्री आपूर्ति गर्न खोज्नु, सबै मुलुकलाई एकैपटक सामग्री चाहिएको कारण विमानस्थलमा ट्राफिक समस्या हुनु र भन्सारका चेक–जाँचलगायतका समस्याका कारण तोकिएको समयमा स्वास्थ्य सामाग्री ल्याउन नसकेको सेनाले दाबी गरेको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आउँदो मंगलबारसम्ममा पहिलो फ्लाइटबाट काठमाडौंमा चीनबाट स्वास्थ्य सामग्री आउने बताए ।
सेनाले गोन्जाउ एयरपोर्टमा नेपाल ल्याउने सामग्री जम्मा गर्ने स्थान पाएको पनि उनले बताए । उक्त सामग्री अब भन्सारले चेकजाँच गरिसकेपछि नेपालबाट वाइडबडी विमान गएर ल्याउने छ ।
‘शुक्रबारसम्म भन्सारको काम सकियो भने नेपालबाट शनिबार वा आइतबारै गएर स्वास्थ्य सामग्री ल्याउँछ । नत्र मंगलबार सम्ममा पहिलो लटको स्वास्थ्य सामग्री काठमाडौंमा उत्रने छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।
सेनाले ढुवानी कम्पनी फ्ल्यास फ्रेइट नेपाल कार्गो कम्पनीसँग वैशाख १६ गते सम्झौता गरेको थियो । चार्टडबाट दुई खेपमा अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउन तीन लाख ७२ हजार पाँच सय डलर (चार करोड ४४ लाख ३६ हजार रुपैयाँ) दिने सम्झौता गरेको थियो । जसअनुसार पहिलो विमानमा १४ थरीका १८.८४३ टन र दोस्रो विमानमा १७ थरीका २८.७७ टन स्वास्थ्य सामग्री ल्याउने तयारी छ ।
प्रवक्ता पाण्डेले गोन्जाउबाट स्थलमार्गदेखि पनि स्वास्थ्य सामग्री लिएर ढुवानी सम्झौता गरेको कम्पनीका ट्रकहरु नेपालतर्फ आइसकेको बताए । ‘बुधबार र बिहीबार स्वास्थ्य सामग्री लिएर ट्रकहरु हिँडिसकेका छन्,’ उनले भने । गोन्जाउबाट नेपाल–चीनबीचको तातोपानी नाकाबाट सडकमार्ग हुँदै ती ट्रकहरु आइपुग्न सात दिन लाग्नेछ । र, तीन दिन भन्सारमा चेकजाँच हुने छन् । त्यसपछि काठमाडौंमा सामग्री आइपुग्ने छ । सेनाले स्थलमार्गबाट अन्य सामग्री ल्याउनको लागि ढुवानी कम्पनीसँग दुई करोड ८६ लाख ७६ हजार चार सय रुपैंयाको सम्झौता गरेको थियो ।
सेनाले मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट सरकार…–सरकार (जीटुजी) प्रक्रियामार्फत् कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि ६७ थरीका स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो ।
सैन्य कुटनीतिमा जोड
चीनबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि अतिआवश्यक स्वास्थ्य सामग्री खरिद गर्ने नेपाल ८१ औं मुलुक हो । स्वास्थ्य सामग्री खरिद गर्न सकिए पनि उक्त सामग्री पाउन भने लामो समय कुर्नु पर्ने हुन्छ ।
नेपालमा स्वास्थ्य सामग्रीको अभाव भएपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार नेपालस्थित चिनियाँ दुतावासका सैनिक–सहचारीलाई सैनिक मुख्यालय जंगी अड्डामा निमन्त्रणा गरेर स्वास्थ्य सामग्री छिटोभन्दा छिटो नेपालमा ल्याइदिने वातावरण मिलाइदिन आग्रह गरेका थिए ।‘प्रधानसेनापतिले पनि सैनिक सहचारीलाई बोलाएर आग्रह गर्नु भएको छ । उता, परराष्ट्र मन्त्रालयले पनि कुटनीतिक नोटमार्फत् चीनलाई आग्रह गरिरहेको छ । हामीले पनि बेइजिङस्थित हाम्रो सैनिक सहचारीलाई स्वास्थ्य सामाग्री छिटोभन्दा छिटो नेपालमा पठाउने सम्बन्धमा भूमिका खेल्न आग्रह गरेका छौं,’ प्रवक्ता पाण्डेले भने, ‘सबै संयन्त्रहरु प्रयोग गरेका छौं । अर्को साताभित्र स्वास्थ्य सामग्री आइपुग्छ ।’