चट्याङ के हो ? कसरी बच्ने ?

जनपत्र
२५ बैशाख २०७७, बिहीबार १६:०७

काठमाण्डौ – प्रिमनसुनसँगै चट्याङ पर्ने क्रम बढेको छ । सरकारी तथ्याङ्क अनुसार चट्याङका कारण हरेक वर्ष सरदर एक सय जनाको ज्यान जाने गरेको छ ।

वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार प्रिमनसुनमा बादल हुँदै आकाशबाट जमिनमा विद्युतीय लहरको झट्का खस्ने जोखिम उच्च हुन्छ । तर यसबारे न पूर्वानुमान गर्न सकिन्छ, न रोक्न नै ।

के हो चट्याङ ?

वरिष्ठ मौसमविद् मणिरत्न शाक्य भन्नुहुन्छ, ‘चट्याङ आकाशमा क्युमलोनिम्बस नामको एक किसिमको बादल निर्माण हुने बेला मात्र देखा पर्ने  गर्छ । यस्तो बादलको स्वरुप कालो हुने गर्छ भने यस्तो बादलको निर्माणले चट्याङ पर्ने मौसमी गतिविधिलाई निम्त्याइरहेको हुन्छ ।’

उहाँका अनुसार चट्याङ शक्तिशाली बिजुलीको धार हो । गर्मी महिनामा जमिन तातो भएपछि तातो हावा आकाशमा जाने र बादलभित्र हावा तलमाथि हुँदै गर्दा उत्पन्न हुने घर्षणपछि करेन्टको उत्पति हुन्छ । यसरी उत्पन्न भएको करेन्टको धार पोजेटिभ र नेगेटिभ हुने र यी दुई धार आपसमा जोडिएर चट्याङ पर्ने वरिष्ठ मौसमविद् शाक्य बताउनुहुन्छ ।

वैज्ञानिक अध्ययन अनुसार एक पटक चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा त्योभन्दा बढी मात्रामा करेन्ट उत्पन्न हुन्छ । यति धेरै करेन्ट उत्पत्ति हुने भएकोले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भइ प्रवाहित हुने बेला यसको संसर्गमा आउने मानिस वा अरु कुनै प्राणीको ज्यान जाने गर्छ ।
आकाशमा एक चोटी बिजुली चम्कने बेला वायुमण्डलमा अत्यधिक मात्रामा तापशक्ति पैदा हुने गर्छ । यसले वायुमण्डललाई आकस्मिक रुपमा तताइदिन्छ । अध्ययन अनुसार आकाशमा एक चोटी बिजुली चम्कने बेला वायुमण्डलीय तापमान एक्कासी बढेर ३० हजार डिग्री सेल्सियस वा त्योभन्दा बढी पुग्न थाल्छ ।

शाक्य भन्नुहुन्छ, ‘आकस्मिक रुपमा क्षणभरमै वायुमण्डलीय तापमान यति धेरै बढ्ने कारण त्यस क्षेत्रको वायुमण्डल तातिएर आयतन वृद्धि हुन थाल्छ, जसले गर्दा त्यहाँ एक किसिमको विस्फोटनको आवाज निस्कने गर्छ । र यसलाई मेघगर्जन भनिन्छ । यही कारणले गर्दा चट्याङ पर्ने बेला आकाशमा बिजुली चम्कनुको साथै मेघगर्जनको आवाज आउने गर्छ  ।’

वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार चट्याङ चार किसिमका हुन्छन् ।
– आकाशबाट आकाशमै पर्ने
– बादल र बादलसँगैको हावामा पर्ने
– जमिनबाट आकाशमा जाने
– र आकाशबाट जमिनमा आउने ।

यसमध्ये आकाशबाट जमिनमा आउने चट्याङ सबैभन्दा खतरनाक हुने उहाँले बताउनुभयो ।

चट्याङबाट कसरी जोगिने ?

प्रकृति र मौसमसँग सम्बन्धित हुने भएकाले चट्याङलाई टार्न सकिन्न । तर यसबाट हुने नोक्सानीलाई भने कम गर्न सकिन्छ । नेपालमा चट्याङ परेका बेला घरभित्रै बस्नु नै चट्याङबाट जोगिने उत्तम उपाय भएको विज्ञ बताउँछन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल सामान्य सावधानी अपनाउन सके चट्याङबाट बच्न सकिने बताउनुहुन्छ । उहाँका अनुसार खेतीपातीको चटारो पर्ने बेला चट्याङ पर्ने हुँदा खेतबारीमा काम गर्दा विशेष ध्यान दिनुपर्छ ।

– रुखको फेदमा र छेउछाउमा आड लगाएर बस्नु हुँदैन
– मेघगर्जनसहित पानी पर्दा घरबाहिर निस्कन हुँदैन
– पौडी पोखरी र आसपासमा जानु हुँदैन
– रुखको फेद र आसपासमा बस्नु हुँदैन
– छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन भने बिजुलीबाट चल्ने उपकरण बन्द गर्नुपर्छ
– घरबाहिर भए मोटरगाडीभित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ -मोटरको टायरले विद्युतीय धारलाई भू सतहसँगको संसर्गबाट अलग्याइदिने भएकोले चट्याङले असर पार्न सक्दैन

–  कतै सहारा लिने ठाउँ छैन भने घुँडाले भुइँमा टेकेर हात टाउकोमाथि राखी निहुरिएर बस्नुपर्छ
– तर भुइँमा लम्पसार पर्ने वा सुत्ने गर्नुहुँदैन, यसले चट्याङको खतरा झन् बढी हुने गर्छ ।

यस्तै मेघगर्जनसहित पानी परिरहेको बेलामा ती पानीको थोपामा पनि विद्युत् चार्ज भइरहेको हुन्छ । त्यसैले मेघगर्जनसहित पानी परेको बेला जोखिम धेरै हुन्छ । यस्तो बेला हिँडडुल गर्न नहुने  विज्ञको भनाइ छ ।

२०६८ सालदेखिको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा वार्षिक एक सय जनाको चट्याङका कारण ज्यान जाने गरेको छ भने झण्डै पाँच सय जना घाइते हुने गरेका छन् । गएको एक महिनामा मात्रै चट्याङका कारण १४ जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल अबको एक/दुई वर्षमा नेपालले चट्याङबाट हुने क्षतिको न्यूनीकरण गर्ने दाबी गर्नुहुन्छ ।

अध्ययनले संसारमै चट्याङका तीन ‘हटस्टप’मध्ये नेपाललाई एक मानेको छ । चट्याङको नक्साले अफ्रिकाको कङ्गो क्षेत्रलाई सबैभन्दा जोखिममा देखाएको छ भने त्यसपछि दक्षिण अमेरिकाको भेनेजुएला वरिपरिको क्षेत्र र अर्को जोखिमयुक्त क्षेत्र नेपाललाई देखाएको छ । उज्यालो अनलाईनबाट हामिले यो समाचार साभार गरेका हौं । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*