किट नहुँदा हेटौंडामा रोकियो कोरोना परीक्षण

जनपत्र
२५ बैशाख २०७७, बिहीबार १०:३७

मकवानपुर — परीक्षण किट अभावमा आजदेखि हेटौंडामा कोरोना जाँच रोकिएको छ । संघीय सरकारले वाग्मती सरकारलाई उपलब्ध गराएको पीसीआर र आरडीटी दुवै किट सकिएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभागका प्रमुख डा. पुरुषोत्तम सेढाईंका अनुसार संघीय सरकारले पाँच सय पीसीआर किट दिएको थियो ।

हालसम्म हेटौंडामा ४ सय ६५ जनाको पीसीआर परीक्षण भएको छ । ‘यस विषयमा संघीय सरकारलाई जानकारी गराइसकेका छौं । आज बिहीबारबाट परीक्षण गर्न किट छैन,’ उनले भने । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको पीसीआर मेसिनमा परीक्षण गरिएका मध्ये हालसम्म चार जनामा कोरोना पुष्टि भएको छ ।

हेटौंडामा चैत २७ बाट मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदै आएको छ । ‘यो किट बजारमा उपलब्ध छैन । हामीले चाहेर पनि किन्न सक्दैनौं’, सेढाईंले भने, ‘एउटा पीसीआर किटको मूल्य करिब १३ हजार रुपैयाँ पर्छ ।’ वाग्मती प्रदेशमा चितवन, धुलिखेल, टेकु र वीर अस्पतालमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ ।

चितवनमा साताअघि नै पीसीआर किट सकिएको थियो । त्यहाँ ६ सय ९ जनाको पीसीआर परीक्षण भएको छ । छिमेकी जिल्ला बारा, पर्सा, रौतहटमा क्रमशः कोरोनाका बिरामी बिरामी भेटिन थालेसँगै हेटौंडामा किट सकिँदा स्थानीय चिन्तित छन् ।

प्रदेशमा आरडीटी किटको पनि अभाव सुरु भएको छ । डा. सेढाईंका अनुसार संघले उपलब्ध गराएका दस हजारवटा आरडीटी किट १३ जिल्लालाई बाँडिएको थियो । बुधबारसम्मको रिपोर्टअनुसार प्रदेशभर एक हजार किटमात्र बाँकी छन् । ‘आरडीटी किट बढीमा दुई दिनलाई पुग्छ’, सेढाईंले भने । विदेशबाट फर्किएका र विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेकाहरूको पहिलो चरणमा परीक्षणका लागि संघले आरडीटी किट उपलब्ध गराएको थियो । इकान्तिपुरका लागि सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*