हेटौंडामा बिनाकाम बजार डुल्नेलाई कारबाही गरिने

हेटौंडा — जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा बजार क्षेत्रमा लकडाउनलाई अझै कडाइ बनाउने भएको छ । खाद्य तथा अत्यावश्यक किनमेलको बहानामा प्रशासनले तोकेको समयमा हेटौंडा बजार क्षेत्रमा अनावश्यक रुपमा हिँडडुल गर्नेको संख्या बढेपछि प्रशासनले लकडाउनलाई अझै कडाइ गर्ने भएको हो ।
मंगलबार बिहान बसेको कमाण्ड पोस्टको बैठकले बिनाकाम खाली हात हेटौंडा बजारमा डुल्नेलाई कारबाही गर्ने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जानकारी दिए । ‘मर्निङ वाक जाने, कामबिना बजारमा घुम्न निस्कने क्रम बढेपछि कडाइ गर्ने कमाण्ड पोस्टको बैठकले निर्णय गरेको छ । यस्तै कोरोना संक्रमित क्षेत्रबाट हेटौंडा प्रवेशमा समेत कडा्य गर्ने भएको छ,’ उनले भने ।
पछिल्लो समय बिहान ९ बजेसम्म हेटौंडा बजारमा सर्वसाधारणहरुको भीड बढ्ने गरेको छ । हेटौंडा प्रवेश गर्ने विभिन्न नाकामा प्रहरीले कडाइ गरे पनि हेटौंडा बजारभित्र बस्ने सर्वसाधारण हेटौंडाको मुख्य चोकहरुमा किनमेलको बहानामा आउने क्रम बढेपछि हेटौंडा बजार हाट बजार जस्तै भएको गुनासो आएको छ । हेटौंडामा बिहानको समयमा सम्पूर्ण पसलहरु खुल्न थालेका छन् । यो समाचार हामिले इकान्तिपुरबाट साभार गरेका हौं ।