बंगलादेशमा झण्डै नौ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण, १ सय ७५ को मृत्यु
काठमाण्डौ – बंगलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
२४ घण्टामा थप ५ सय ५२ वृद्धि भएर सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताउनुभयो । मन्त्रालयका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा थप पाँच सङ्क्रमितको मृत्यु भएको छ । कोभिड–१९का कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म १७५ पुगेको छ ।
उहाँका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा पाँच हजार ८ सय २७ कोरोना भाइरसका शङ्कास्पद विरामीको नमुना परीक्षण गरिएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार सङ्क्रमितमध्ये शनिबारसम्ममा १७७ जना उपचारपछि निको भएर फर्किएका छन् ।
विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३४ लाख २६ हजार ३ सय ८९ पुगेको छ भने दुई लाख ४० हजार ४ सय ९० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । विश्वभर सङ्क्रमणपछि चिकित्सकको निगरानीमा बसेर उपचार गरी निको भई घर फर्किनेको सङ्ख्या साढे १० लाख भन्दा माथि छ ।






