हेटौंडाको आपूर्ति केन्द्रमा कोरोना रोकथामका सामाग्री पर्याप्त

हेटौंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्रले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।
प्रदेशको १३ वटै जिल्लाका स्वास्थ्य कार्यालय र ८ वटा अस्पतालमा सामाग्री वितरण गरिएको हो । संघीय सरकार, आपूर्ति केन्द्र र बिभीन्न दातृ निकायबाट प्राप्त भएको सामाग्री वितरण गरिएको र केही सामाग्री स्टक राखिएको आपूर्ति केन्द्रका सूचना अधिकारी अमृत कुमार श्रेष्ठले वताउनुभयो ।
आपूर्ति केन्द्र आफैले टेडर गरेर प्राप्त गरेको र बिभीन्न निकायबाट प्राप्त गरेको समेत गरी पीपीई सेट ८ सय ९० थान, गाउन १ हजार ६ सय ९० वटा, एन नाइन्टीफाइप मास्क ३ हजार ८ सय ३० थान, सर्जिकल मास्क ५ हजार ९ सय ५० थान, ग्लोव्स ९४ हजार २ सय, ह्यान्ड स्यानीटाइजर ७ सय १८ थान, आरडीटी टेष्ट ८ हजार थान लगायतका विभीन्न स्वास्थ्य सुरक्षा सामाग्री प्राप्त गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
सबै क्षेत्रको एकै स्थानमा जम्मा गर्ने र दिनहुँजसो जिल्लाका स्वास्थ्य कार्यालय र अस्पताल मार्फत प्रदेशका सवैजसो स्थानीय तह सम्म पुगेको उहाँले वताउनुभयो । अहिले भने स्वास्थ्य सामाग्रीमा कुनैपनि समस्या समेत नभएको वताउनुभयो ।