२ सय १२ देशमा काेराेना भाइरस, १० लाख ३९ हजारभन्दा धेरै निकाे
काठमाण्डाै – विश्वभर १० लाख ३९ हजारभन्दा धेरै कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित निको भएका छन् ।
२ सय १२ देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा ३३ लाख चार हजार जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा १० लाख ३९ सय ५५ जना निको भएकाे वल्डाेमिटरले जनाएको छ । सेन्ट पियर र मिकलान काेराेना भाइरस देखिएका देश हुन् ।
सङ्क्रमितमध्ये २० लाख ३१ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये ३ प्रतिशतको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डाेमिटरले जनाएको छ । सङ्क्रमणका कारण अहिलेसम्म दुई लाख ३३ हजारभन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै विभिन्न देशमा गरि साढे ५ हजार भन्दा धरैको ज्यान गएको छ ।
अमेरिकामा मात्रै २२ सयभन्दा धेरैको ज्यान गएको छ भने साढे ३० हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छ । त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या साढे ६३ हजार नाघेको छ । यस्तै १० लाख ९५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटलीमा साढे २७ हजारभन्दा धेरै, बेलायतमा साढे २६ हजारभन्दा धेरै, स्पेनमा साढे २४ हजारभन्दा धेरै र फ्रान्समा २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा सङ्क्रमितको सङ्ख्या साढे ३४ हजार नाघेको छ । बिहीबार १८ सयभन्दा धेरै नयाँ सङ्क्रमित थपिएर सङ्क्रमितको सङ्ख्या ३४ हजार ८ सय नाघेकाे हाे । यस्तै साढे ११ सयभन्दा धेरैको कोरोना सङ्क्रमणका कारण ज्यान गएको भारतमा ९ हजार ६८ जना भने निको भएका छन् । उज्यालो अनलाइनबाट यो समाचार साभार गरिएको हो ।






