ज्वरोको कारण अस्पतालले भर्ना लिन नमानेका बिरामीको मृत्यु
मोरङ — सुनसरीको देवानगञ्ज गाउँपालिका(१ का २७ वर्षीय रविन्द्र यादवको समयमा उपचार हुन नसक्दा बिहीबार साँझ मृत्यु भएको छ । विराटनगरका अस्पतालले भर्ना गरेर उपचार गर्न नमानेपछि उनलाई सुनसरी प्रहरीको संयोजनमा बिहीबार अपराह्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनका बुवा जोगीलाल यादवका अनुसार प्रतिष्ठानका चिकित्सकले बिहीबार साँझ ७ बजे रविन्द्रलाई मृत घोषणा गरेका हुन् । ‘समयमा अस्पताल ल्याउन नसक्दा बचाउन नसकेको चिकित्सकले बताए,’ उनले भक्कानिँदै भने, ‘छोराको शव पोष्टमार्टमपछि मात्रै लग्न मिल्छ । पोष्टमार्टम भोलि हुन्छ ।’
रविन्द्रको शरीरको तापक्रम एक सय एक डिग्रीभन्दा बढी भएकाले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गरेका थिएनन् । आइतबार दिउँसो विष सेवन गरेर कोसी अस्पताल भर्ना भएका उनलाई बुधबार साँझ सघन उपचार कक्ष र भेन्टिलेटरमा राख्नुपर्ने भएको भन्दै अस्पतालले रेफर गरेको थियो । अस्पतालका चिकित्सक डा। लक्ष्मीनारायण यादवले बिरामीको मिर्गौलामा समस्या देखिएकाले भेन्टिलेटरमा राखेर उपचार गर्न आवश्यक भएको र आफूहरुसँग भेन्टिलेटर नभएकाले रेफर गरिदिएको बताए । त्यसपछि उनलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
नोबेलमा एक सय एक डिग्री ज्वरो आएकै कारण भर्ना गर्न नमानेको बुवा जोगीलालले बताए । ‘नोबेलले भर्ना नलिएपछि पुनस् फर्काएर कोसी अस्पताल ल्यायौं । राति ११ बजेसम्म आकस्मिक कक्षअगाडि राख्दा पनि भर्ना लिन मानेनन्,’ उनले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीले यहाँ राखे बिरामीको मृत्यु हुने भएकाले अन्य अस्पतालमा लग्नु भने ।’ केही सिप नलागेपछि उनलाई घर लग्न बाध्य भएको यादवले बताए । इकान्तिपुरबाट साभार ।