भरतपुर कोरोना नियन्त्रण कार्यदलद्वारा खर्च अनुमोदन
१७ वैशाख, चितवन । भरतपुर कोरोना विषेश अस्पताल सञ्चालनका लागि बनाइएको ‘भरतपुर कोरोना नियन्त्रण कार्यदल’ले खर्च अनुमोदन गरेको जनाएको छ । कार्यदलका सदस्यसचिव डा. भोजराज अधिकारीले कार्यदलको सोमबार बसेको बैठकले खर्च अनुमोदन गरेको बताए । तर, केही सदस्यहरुले भने यसबारेमा अनभिज्ञता प्रकट गरे ।
प्रदेश सरकारको १ करोड सशर्त अनुदान र भरतपुर महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पेस्की लिएको ६ लाख ५० हजार रकमलाई आम्दानी देखाइएको छ भने खर्च १ करोड २६ लाख ४८ हजार देखाइएको छ ।
प्रदेश सरकारबाट चैत २० गते आएको सशर्त अनुदानको एक करोड रकम कोरोना अस्पतालको खातामा नै पठाइएको महानगरका लेखा अधिकृत जगन्नाथ आर्यालले जानकारी दिए । अडिट गर्ने/गराउने आर्थिक नियम ऐनअनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल फणिन्द्र खनाल र अस्पतालका सदस्य सचिव एवम् प्रवक्ता डा. भोजराज अधिकारीलाई दिइएको छ ।
अस्पतालले दिएको विवरण अनुसार बैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रकम भुक्तानी भएको देखिएको छ । क्वारेन्टाइन खर्च ६ लाख ५७ हजार ५ सय, ट्वाइलेट बाथरुम पार्टेसन गर्दाको २५ लाख ४४ हजार ५ सय ४८, एयर कण्डिसनको ६ लाख २५ हजार, कर्मचारी पारिश्रमिक वापत १३ लाख ७७ हजार ५ सय ८० रकम गरी जम्मा ५२ लाख ४६ हजार २८ रकम भुक्तान गर्न बाँकी छ ।
अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार, औषधि खरिद/मेशिनरी औजारमा सबैभन्दा धेरै ५२ लाख २८ हजार २ सय १० खर्च भएको छ । यसमा तोकिएको ४५ लाख खर्चको सिलिङ राखिएकोमा त्यसलाई नाघेर खर्च गरिएको छ । अस्पतालले कति कुन-कुन औषधि खरिद गरेको हो भन्ने विवरण दिएको छैन । अस्पतालले पीपीई र एन-९५ मास्कमा मात्रै भ्याटसहित करीब ३४ लाख खर्च गरेको देखाइएको छ । तर, ५२ लाख २८ हजारमध्ये करीब १८ लाखको हिसाब अस्पतालले देखाएको छैन ।
भरतपुर कोरोना नियन्त्रण कार्यदलले मंगलबार एक विज्ञप्ती जारी गर्दै खर्च अनुमोदन गरेको जनाएको छ । प्रवक्ता डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तीमा अस्पतालका सामाग्री प्रचलित कानुन बमोजिम खर्च गरेको दावी गरिएको छ । उनले यस्तो दावी गरे पनि कतिपय सामान विना प्रकृया खरिद गरेको देखिएको छ । औषधि तथा पीपीई र मास्क खरिद सरकारको प्रचलित मापदण्डअनुसार गरिएको छैन । कोसँग औषधि खरिद गरिएको हो उल्लेख नै छैन । ६ लाख २५ हजारको एसी खरिद गर्दा दरभाउ पत्र मागेको दाबी गरे पनि देखाउन अस्पतालले सकेको छैन ।
सार्वजनिक खरिद ऐनको खरिद सम्बन्धी व्यवस्थामा पान बिलमा बढीमा २० हजारसम्म सीधा खरिद गर्न पाउने व्यवस्था छ । बढीमा ५ लाखसम्मको खर्चमा तीनबाट सप्लायर्ससँग दरभाउ पत्र मागेर कम पेश गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ । त्यसभन्दा माथिको खरिद गर्नु परेमा टेण्डरमा जानुपर्ने नियम कानुनमा छ । चैत ७ गते अस्पताल खुले पनि १५ गते मात्रै अधिकांश समान सप्लाई गरेको देखिएको छ । अस्पतालसँग दरभाउ पत्र माग्ने र लिने समय अपुग भएको देखिँदैन ।
अस्पतालले महेश मेडिसिन्स प्रा.लि.सँग ५० थान पीपीई ५ हजार २ सय बढी भ्याटमा खरिद गरेको देखिएको छ । तर, महेश मेडिसिन्सले २ सय थान पीपीई सोही रेटमा अस्पताललाई बेचेको बताएको छ । एकै ब्यक्तिका अलग-अलग र्फमबाट समेत सामान उठाइएको छ ।
नेशनल सर्जिकल हाउस, मेडिलाइन इक्युपमेन्ट सर्भिस, सम्वृद्धि गार्मेन्ट प्रा.लि. र महेश मेडिसिन्स प्रा.लि.बाट सामान खरिद गरेको देखिएको छ । दुई हजारदेखि २५ सय पर्ने पीपीईलाई ६ हजार ५ सयसम्म किनेको देखिएको छ ।
अस्पतालका लागि जिल्लाका विभिन्न सामाजिक तथा व्यवसायिक संघसंस्थाहरुले सुरक्षा सामाग्रीहरु सहयोग गरेका थिए । उनीहरूले सहयोग गरेको स्वास्थ्य सामाग्रीहरूको समेत बिचौलिया बनेर कार्यदलका केही चिकित्सकहरुले मिलाएको र उनीहरुसँग नगद रकम लिएको खुलेको छ । एक चिकित्सकले काठमाडौंबाट गाडीमा हालेर पीपीई, मास्क लगायतका सामाग्री ल्याएर गोदाम चलाएको चर्चा छ ।
विभिन्न संघसंस्थासँग रकम माग्दै सहयोग गर्न भनिएको थियो । कोरोना अस्पतालमा सहयोग गर्ने एक संस्थाका प्रतिनिधिले भने, ‘संकटको बेलामा हामीसँग सामान हुने कुरा त भएन, कहाँबाट ल्याउनु ? कनेक्सन त उहाँहरुकै थियो होला । हामीसँग त रकम मागे, रकम दियौं, उहाँहरुले नै सामान ल्याउनुभएको हो । यति परिमाणलाई यति पर्यो भन्नुभयो, होला भन्यौं, हस्तान्तरण गर्यौं ।’ एकातिर रकम बढी हालेर सामान खरिद गरिएको छ भने, अर्कोतिर भनेको जति परीमाणमा पनि सामान नआएको जनाइएको छ ।






