ओम्नीको र्यापिड टेस्टकिट बिक्री गराउन स्वास्थ्य मन्त्रालयका अधिकारी नै सक्रिय
ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनले भन्सार छुट अनुमतिभन्दा बढी मात्रामा ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थल भन्सार कार्यालयमा रोकिएको र्यापिड डाइन्नोस्टिक किट बिक्री गराइदिन स्वास्थ्य मन्त्रालयकै अधिकारीहरु सक्रिय भएका छन्।
स्वास्थ्यका उच्च अधिकारीहरुले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई मन्त्रालयमै बोलाएर ओम्नीका सामान किनेर सरकारलाई दिन दबाब दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारी र सुवास भट्टले लेखेका छन्।
ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनले सरकारसँग ७५ हजार किटको सम्झौता गरे पनि एक लाख आरडिटी किट ल्याएको थियो। अतिरिक्त २५ हजार किटको भन्सार छुट नहुने भन्दै विमानस्थलमै रोकिएको थियो। पहिलो चरणमा ल्याउनुपर्ने पिपिई लगायत अत्यावश्यक मेडिकल सामग्री ओम्नीले धेरै ल्याएको थियो।
अत्यावश्यक सामग्री समयमा नल्याएको भनेर सम्झौता रद्द गरी सरकारले नै ओम्नीलाई कालो सूचीमा राख्ने घोषणा गरेको छ। तर, कालो सूचीमा राख्ने प्रक्रियामा सहयोग नगरी सरकारै अधिकारी ओम्नीका सामान बिक्री गराउन सक्रिय भएका छन्।






