लकडाउन १० दिन थपियो, वैशाख २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय
सरकारले लकडाउनको समय वैशाख २५गतेसम्म थपेको छ । सरकारले जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो । तर उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको एक मन्त्रीले जानकारी दिए ।
‘नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ, तर उद्योग खोल्न भने खुकुलो बनाउने निर्णय भएको छ’, ती मन्त्रीले भने । चैतको ११ गतेदेखि लकडाउन गरिरहेको सरकारले अहिले तेस्रोपटक थपेर वैसाख २५ गतेसम्म पुर्याएको छ ।
सरकारले गत चैत ११ देखि देशव्यापी लकडाउन सुरु गरेको हो । पहिलोचोटि चैत १८ सम्म लकडाउन घोषणा गरिएको थियो । दोस्रो चरणमा चैत २५ सम्म लकडाउन घोषणा गरिएको थियो भने तेस्रो चरणमा वैशाख ३ सम्म लकडाउन लम्ब्याइएको थियो । चौथो चरणमा वैशाख ३ देखि वैशाख १५ सम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पाँचौं चरणमा लकडाउन थप गर्दै वैशाख २५ सम्म लम्ब्याएको हो ।
कोरोनाको जोखिम बढी भएको ठाउँमा लकडाउन गर्ने र कम जोखिम भएको ठाउँमा खुकुलो बनाउने गरी लकडाउनको उपाय खोजी गर्ने सरकारी अधिकारीहरुले बताएका थिए । यसवीचमा लकडाउन लामो हुँदै जाँदा यसको विकल्पसमेत खोज्नुपर्ने माग भइरहेका बेला सरकारले थप १० दिन लकडाउन गर्ने निर्णय गरेको छ । वैशाख २५ सम्म हुने लकडाउनको मोडेल कस्तो हुनेछ भन्ने मन्त्रिपरिषदको विस्तृत निर्णय बाहिर आइसकेको छैन ।